रुसमा कोरोना भाइरस सङ्क्रमितको संख्या १३ लाख नाघेको छ। रुसको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म रुसमा कोरोना सङ्क्रमितको संख्या १३ लाख १२ हजार ३१० पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोनाका १३ हजार ५९२ नयाँ संक्रमित थपिएका छन्। अघिल्लो २४ घण्टामा रुसमा अहिलेसम्मकै सबैभन्दा धेरै १३ हजार ६३४ नयाँ संक्रमित भेटिएका थिए।
त्यस्तै रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २२ हजार ७२२ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोनाबाट १२५ जनाको मृत्यु भएको हो। रुसमा कोरोनाको मृत्युदर भने तुलनात्मकरूपमा कम छ।
कोरोना सङ्क्रमितको आधारमा रुस सबैभन्दा धेरै प्रभावित चौथो मुलुक हो। अमेरिकामा ७७ लाखभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् भने भारतमा कोरोना सङ्क्रमितको संख्या ७१ लाख नाघेको छ।
त्यस्तै ब्राजिलमा पनि ५० लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७