कोरोना भाइरसका कारण सङ्कटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिएका छन् । कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा क्रुजले तत्काल लागू हुने गरी राजीनामा दिनु भएको जनाएको छ तर राजीनामा दिनुको खास कारण खोलिएको छैन ।
विगत साढे चार वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा सेवा गर्नु पर्नु भएका क्रुजको स्थानमा अब सिनडोयलले जिम्मेवारी लिने छन् । पछिल्ला दिनहरूमा कोरोना भाइरसका कारण ब्रिटिस एयरवेजले पर्याप्त उडान भर्न नसकेको तथा यात्रुको संख्यामा व्यापक कमी आएको जनाएको छ । ब्रिटिस एयरवेजको मातृसंस्था आइएजीमा पनि फेरबदल गरिएको छ ।
आइएजीमा नयाँ नियुक्त भएका प्रमुख कार्यकारी लुइस ग्यालेगोले कोरोना भाइरसका कारण उत्पन्न संकट सामना गर्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गरे । उनले क्रुजको कार्यकालमा ब्रिटिस एयरवेजले निकै प्रगति गरेको र एयरलाइन्सलाई आधुनिकीकरण गर्न ठोस कार्य गरेको भन्दै प्रशंसा समेत गरे । ब्रिटिस एयरवेजले यसै वर्ष स्थापनाको एक सय वर्ष मनाउँदैछ ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७