काठमाडौँ। खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित छापडाँडाबाट खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकोे रसुवाघाटसम्म पहिलो पटक बस सेवा सञ्चालनमा ल्याइएको छ । दशै-तिहार पर्वको अवसर पारेर आफ्नो घर आवतजावत गर्ने सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि नियमित बस सेवा सञ्चालनमा ल्याइएको हो ।
हलेसी तुवाचुङ–११ राजापानीको भाडबेँसीमा आयोजित कार्यक्रममा स्थानीय ९९ वर्षीया तुलसा बुढाथोकी, नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बस सेवाको औपचारिक शुभारम्भ गरेकी थिईन । छापडाँडाबाट–हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–भण्डारेघाट–रमाईलो हुँदै रसुवाघाटसम्म खोटाङ यातायात प्रा.लि.को बस सञ्चालन हुने जनाइएको छ ।
छापडाँडाबाट दैनिक बिहान ६ बजे र रसुवाघाटबाट छापडाँडाका लागि दैनिक बिहान साँढे ११ बजे नियमित बस छुट्ने कार्यतालिका निर्माण गरिएको खोटाङ यातायात प्रा.लि.का वरिष्ठ उपाध्यक्ष टेकेन्द्र राईले जानकारी दिए । छापडाँडाबाट रसुवासम्मका लागि रु ४५० भाडा निर्धारण गरिएको यातायात प्रा.लि.ले जनाएको छ ।
खोटाङ र उदयपुरको सीमानामा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान भएपछि छापडाँडा–गाईघाट सिधा बस सञ्चालन गरिने जनाएको छ । हालै निर्माण सम्पन्न गरिएको उक्त सडक खण्डमा बस सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।
यातायात सञ्चालन नहुँदा कठिन यात्रा गरिरहेका सर्वसाधरणलाई उक्त सडक खण्डमा नियमित यातायात सञ्चालन भएपछि यात्रा सहज भएको छ । दैनिक बस सेवा शुरु भएपछि स्थानीय बासिन्दाले उत्पादन गरेका अन्नबाली, फलफूल लगायत बाहिर निर्यातसमेत हुने अपेक्षा गरिएको छ ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य ग्रामिण सडक पनि दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । जिल्लाका सबै स्थानीय तहले अहिले अवरुद्ध सडक खुलाउनका लागि मर्मतको कामलाई तीव्रता दिएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै ग्रामिण सडकमा करीब छ महिनामात्र यातायात सञ्चालन हुने गरेको छ । भर्खरै कालोपत्रको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएको मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–हलेसी सडक खण्डमा मात्रै बाह्रै महिना नियमित यातायात सञ्चालन हुने गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७