डा. बाबुराम भट्टराई कोही सामान्य मानिस होइनन् । उनी पूर्वप्रधानमन्त्री भइसकेका नेपालका एकजना वरिष्ठ नेता हुन् । आज पनि डा भट्टराईलाई राज्यले पूर्वप्रधानमन्त्रीको रुपमा सम्मान र आदर मात्रै दिएको छैन, सोही बमोजिमको सुरक्षा र सुविधा पनि दिएको छ । सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा कुनै लहडको आधारमा उनीमाथिको सुरक्षा र सुविधा पनि दिएको होइन । त्यसका लागि नेपालको संविधानले नै सम्पूर्ण व्यवस्था गरेको छ । बाबुराम भट्टराई आज पनि र व्यक्तिगत रुपमा सक्रिय जीवन जिउँछन् र राजनीतिक रुपमा कुनै पार्टीको जिम्मेवार पद पनि ग्रहण गरिरहेका छन् । फेरि बाबुराम भट्टराईलाई नेपालका अन्य नेताहरुको तुलनामा निकै अध्ययनशील र विद्वान् नेताका रुपमा पनि नेपाली समाजले चिन्ने बुझ्ने र जान्ने गरेको छ ।
यद्यपि विद्वान व्यक्ति जस्तो सौम्य भने हामीले उनलाई देखिरहेका छैनौँ । किनकि जो साँच्चिकै विद्वान हुन्छ, उसले अन्य बाँकीका बारेमा कम पढेको अपढित जस्तो टिप्पणी नगर्नुपर्ने हो । मलाई लाग्छ बाबुराम भट्टराईमा कि आफूले गरेको विद्यावारिधिबारे निकै घमण्ड छ कि उनलाई अरुको सम्मान नै गर्न आउँदैन । किनभने विद्वानहरुले आफूले प्राप्त गरेको ज्ञानको कहिल्यै घमण्ड गर्दैनन् बरु व्यवहार र कामले आफूले आर्जन गरेको ज्ञान अन्यको तुलनामा अब्बल भएको प्रमाणित गर्न सक्छन् ।
हातमा विद्यावारिधिको प्रमाणपत्र लिएर कोही दिनमा पटकपटक आफ्नो औपचारिक शिक्षाको घमण्ड बाँकी जगतलाई बताइरहेको छ भने त्यो वास्तविक रुपमा ज्ञानी होइन । मैले यो आलेख लेख्दै गर्दा बाबुरामको बारेमा यति किन भनिरहेको छु भने जेजस्तो भए पनि बाबुराम भट्टराई चुस्त छन्, सक्रिय छन् र त्योभन्दा पनि महत्वपूर्ण कुरा उनीसँग राज्यको सूचनाको पहुँच छ । तिनै बाबुराम भट्टराईले गएको एक दिन आफ्नो गृह जिल्ला गोरखामा गएर बूढीगण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवा ३ जना भएर ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेका छन् । भट्टराईको दाबी छ– ती ३ जना मिलेर गरेको यति ठूलो भ्रष्टाचारको सबै प्रमाण आफूसँग भएको र आवश्यक परे त्यो सार्वजनिक पनि गरिदिने छु । मैले त्यो उनको भाषण इन्टरनेटमार्फत सुन्ने अवसर पाएँ । उनले आफ्ना मतदाता र कार्यकर्ताको अघि उभिएर गरेको त्यो भाषणले मेरो मनमा गम्भीर सवालहरु उब्जिए, त्यही कारण म केही लेख्ने कोसिस गर्दै छु ।
मैले यो आलेख लेख्दै गर्दा बाबुरामको बारेमा यति किन भनिरहेको छु भने जेजस्तो भए पनि बाबुराम भट्टराई चुस्त छन्, सक्रिय छन् र त्योभन्दा पनि महत्वपूर्ण कुरा उनीसँग राज्यको सूचनाको पहुँच छ ।
मैले सुरुमै बाबुराम भट्टराईका बारेमा केही कुरा भनेँ, जुन उनको परिचय पनि हो । वास्तवमा मैले उनको परिचय दिइरहन आवश्यक पनि होइन । किनकि सरदर सबै नेपालीले उनलाई चिनेकै छन् । मैले उनको परिचय नेपाली समाजलाई चिनाउन दिएको होइन, बरु उनी जस्तो जिम्मेवार व्यक्तिले यी कुराहरु किन भने ? देशका ३ मुख्य नेताले गरेको यति ठूलो भ्रष्टाचारबारे उनले आज आएर किन मुख खोले ? फेरि उनीसँग यसबारे भएको प्रमाण नेपाली जनताको बीचमा आवश्यक परेपछि मात्रै खोल्छु भनेर किन भने ? के साँच्चिकै उनीसँग यति ठूलो भ्रष्टाचारको प्रमाण छ भने त्यो यतिबेलासम्म किन लुकाएर राखेका छन् ? उनले भनेको त्यस्तो समय कुन हो, जुनबेला उनले त्यसबारे नेपाली समाजलाई जानकारी दिन उपयुक्त ठान्ने छन् ?
उनी सक्रिय जीवन बिताइरहेका छन्, जसले सबैले सजिलै बुझ्न सक्छ कि उनी जति शारीरिक रुपमा सक्रिय छन् भन्नु परोइन उनको मानसिक अवस्था पनि पक्कै चुस्त छ । एकमनले सोचेँ, यो राजनीतिक नेताहरुले नेपाल र नेपाल जस्तै देशमा गर्ने जुम्लाबाजी मात्रै होकी । तर देशको त्यो स्तरको जिम्मेवारीमा बसेका मानिसले राजनीतिक जुम्लाबाजीका लागि मात्रै यति गम्भीर कुरा बोल्न सक्छ ? त्यसो भए के भट्टराईको आरोपलाई नजरअन्दाज गर्न मिल्छ र ? र अर्को महत्वपूर्ण कुरा के हो भने भ्रष्टाचारको महारोगले ग्रस्त भएको हाम्रो समाजका लागि बाबुराम भट्टराईले जानेर या नजानेर नयाँ अवसरको ढोका खोलिदिएका छन् । सोच्नुहोस् त उनले भनेको जस्तो साँच्चिकै ती ३ नेताहरुले देशविरुद्ध गरेको अपराधको कारबाही प्रक्रिया आरम्भ भयो भने देशको भविष्य कति उज्यालो होला । मूल या भनौँ देशका मुख्य नेताहरुमाथि भ्रष्टाचारको विरुद्ध कारबाही भयो भने तलका छोटे नेता र अन्य कर्मचारीतन्त्र जो अनियमिततामा रजगज गरिरहेका छन्, उनीहरुमाथि पनि कारबाहीको सिलसिला सुरु होला नै ।
बाबुराम भट्टराईले किन भने, के कारणले भने, त्यो समयले बताउँदै जाला । तर नेपालमा माथिल्लो तहदेखि तल्लो तहसम्म भ्रष्टाचार छ भन्ने कुरा कसैले भनिरहनुपर्ने विषय होइन । यो यस्तो सत्य हो जो सुन्दा साँच्चिकै तीतो हुन्छ तर वास्तविक हो । भन्छन् नि अंग्रेजीमा, ओपन सेक्रेट भनेर, हो खुल्ला रहस्य हो कि नेपाली समाज भ्रष्टाचारको दलदलमा निरन्तर फसिरहेको छ । अब त यस्तो लाग्छ यो दलदलबाट कसले कसरी निकाल्न सक्छ देशलाई ?
यहाँ जनस्वास्थ्य महामारीमा शासकहरु कमाउ धन्दाको गाँैडो कुरेर बसिरहेका हुन्छन् । कोरोना महामारीका लागि जनतालाई बचाउन संकटमा ल्याइएका स्वास्थ्य सामग्रीमा गम्भीर भ्रष्टाचार भएको रहस्य लगभग तथ्यसहित नेपालका सबै मिडियाहरुले निरन्तर प्रकाशन र प्रसारण गरे । तर सत्ताको तालाचाबी लिएर बसेकाहरु त्यो सुनेको नसुन्यै गर्छन् । किनकि जो जसको नाम त्यो अनियमिततामा बाहिर सार्वजनिक भएको थियो ती त खालि सहायक पात्र मात्रै थिए । उनीहरुका मुखिया त शासन सञ्चालनको बागडोर सम्हालेकाहरु र उनीहरुका इर्दगिर्द रहेकाहरु नै थिए । त्यसैले त्यो विषय शासकहरुलाई अप्रिय लाग्यो । त्यति मात्रै होइन जुन देशका मन्त्री दलालहरु र कमिसन एजेन्टसँग दिनदहाडै आफ्नै कार्यकक्षमा अर्बौंको बार्गेनिङ गर्छन् र त्यसको अडियो सार्वजनिक हुन्छ । लोकलाजले पदबाट बिदा भए पनि पशुपतिको साँढे जसरी निर्धक्क समाजमा टाउको उठाएर जो चोर उसैको ठूलो स्वरको शैलीमा टेलिभिजनका पर्दामा वायु फ्याँकिरहेका देखिन्छन् । सायद त्यस्तो छुट भएको देश नेपाल बाहेक अन्यत्र कहीँ छैन होला । आफ्नै मन्त्रीले बार्गेनिङ गरेका अडियो सावजनिक भएको अर्को दिन देशका प्रधानमन्त्री जसले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने बाचा कसम जनताको बीचमा सार्वजनिक रुपमा गरेका छन्, त्यो बाचा कसमलाई गफाडीको गफमा परिणत गर्दै बचाउमा उत्रिन्छन् । अनि प्रष्ट हुन्छ भ्रष्टाचार कसले गर्न दिइरहेको छ कसले गरिरहेको छ भन्ने कुरा ।
भ्रष्टाचारको महारोगले ग्रस्त भएको हाम्रो समाजका लागि बाबुराम भट्टराईले जानेर या नजानेर नयाँ अवसरको ढोका खोलिदिएका छन् । सोच्नुहोस् त उनले भनेको जस्तो साँच्चिकै ती ३ नेताहरुले देशविरुद्ध गरेको अपराधको कारबाही प्रक्रिया आरम्भ भयो भने देशको भविष्य कति उज्यालो होला ।
यतिमात्रै हो र देशका प्रधानमन्त्रीको सरकारी निवास नजिकैको सरकारी जग्गा सत्तारुढ पार्टीकै ठूल्ठूला नेताको मिलेमतो र सहभागितामा रातारात गायब पारिन्छ । ढिलै भए पनि छानबिनमा त्यसको रहस्य बाहिर आउँछ । तर छानीछानी आफ्ना नेता र मान्छेहरुलाई छुट दिइन्छ, हो त्यस्तो सरकार छ हाम्रो देशमा । दुनियाँलाई मूर्ख बनाउँदै आफ्ना महासचिव जसले त्यो सरकारी जग्गा निजी बनाउने कामको सबै प्रपन्च रचेका थिए, उनलाई उन्मुक्ति दिने काम हुन्छ । तर अथाह सहनशक्ति भएका नेपाली जनता छन्, जसले यो सबै देखेको नदेख्यै गरेर चुपचाप सहेका छन् ।
कति उदाहरण दिने नेपाल भ्रष्टाचार निरन्तर भइरहेको छ भनेर । बरु यसो गरौँ– नेपालमा संघीयदेखि स्थानीय सरकारसम्म वडा कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म जहाँतहीँ राज्यको ढुकुटी मिलिभगत र सेटिङमा लुट मच्चाउने काम भइरहेको छ । नेपाली समाजका लोकप्रिय लोकगायक पशुपति शर्माले नेपाली समाजको यथार्थ जो शतप्रतिशत सत्य हो त्यसलाई जस्ताको त्यस्तै आफ्नो गीतमार्फत व्यक्त गरेका थिए । तर लुटेराहरुको रजगज रहेको नेपालमा उनले त्यो गीत पनि गाउन पाएनन् । र उनीमाथि धावा बोलियो । यदि त्यस्तो लुट्ने काम हुँदैन, देशको ढुकुटी रक्षा गर्नुपर्नेहरु नै त्यसको भक्षक बनेका छैनन् भने कसरी एक सामान्य कर्मचारी ठाँटको जिन्दगी जिइरहेको हुन्छ । एउटा अधिकृतको सरकारी बेतन जेजति हुन्छ, त्यति त त्यो अधिकृतले एक दिनमा सुरापानमा सकिरहेको दृश्य काठमाडौँमा यत्रतत्र देखिन्छ । एउटा प्रहरी अधिकारी जागिर खाएको २ वर्षभित्र कसरी करोडौँको मालिक बनिरहेको हुन्छ । सुरक्षा गर्ने प्रहरी आफैँ पैसामा बिक्री हुन्छ, न्यायाधीशले मोलमोलाई गरेर नगदमा न्याय बेच्छ अनि अख्तियारको मुख्य कामै अख्तियारको दुरुपयोग हुन्छ भने कसबाट अनि कहाँबाट नेपाली जनता आश गर्ने ?
यो सबै तीतो यथार्थका बीच पनि म सधैँ सकारात्मक सोच राख्ने मानिस । म जतिबेला मेरो भविष्य अजमाउन त्यो मेरो मातृभूमि छोडेर यता अमेरिका आएँ । सायद त्योबेला यति सारो नांगो भ्रष्टाचार थिएन या त्यसबारे मैले जानकारी पाइनँ । फेरि आजजस्तै भ्रष्टाचार त्यो बेला पनि भएर आज जस्तो मिडियाको विकास नभएकाले जानकारी पो नआएको हो कि । तर जतिबेला म अमेरिका आउँदै थिए त्यो बेला यो स्तरको लुट भएको सुनिँदैनथ्यो । सकारात्मक यस मानेमा कि देशमा यति धेरै भ्रष्टाचार आफूले त्यो नभोगेका कारण त्यस्तो होइन होला भन्ने सोचिरहन्थेँ । साढे ३ दशकदेखि अमेरिकामा अध्ययन अध्यापनको काममा व्यस्त रहको भए पनि म मेरो मातृभूमिसँग कुनै न कुनै रुपमा निरन्तर जोडिइरहेको छु । मेरा माध्यमद्वारा आजसम्म मातृृभूमिले के पायो भनेर लेखाजोखा त मैले गरेको छैन तर कुनै न कुनै रुपमा नेपाल र नेपालीको हितमा म जहाँ रहँदा पनि लागिनै रहेको हुन्छु । यसो भन्दै गर्दा म र मेरा माध्यमले आजसम्म मेरो मातृभूमिले के पायो भनेर पनि कुनै दिन कुनै टिपोट गरौँला नै ।
तर बाबुराम भट्टराईले देशका ३ नेता मिलेर ९ अर्ब एउटै आयोजनामा भ्रष्टाचार गरिसकेको भन्ने दाबीले मलाई मलाई मेरो मातृभूमिसँग जोडिएको एउटा ताजा घटना सम्झना आइरहेको छ । मैले अघि नै पनि भनेँ, म काम गर्न थालेदेखि मातृभूमिलाई कसरी योगदान गर्न सकिन्छ भन्ने सोचिरहेको हुन्छु । सोचिरहेको मात्रै होइन, मेरो ल्याकतले भ्याएसम्म आफ्नोतर्फबाट मैले निरन्तर पहल र प्रयत्न पनि गरेँ । त्यो घटना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको यही कार्यकालको सुरुवाती समयमा मैले आफ्नो माध्यमद्वारा मातृभूमिलाई निकै ठुलो गुन लगाउने अवस्था बनिरहेको थियो ।
मेरो आफ्नै पारिवारिक सदस्य संलग्न भएको एउटा ऊर्जासम्बन्धी योजना मेरो आग्रहमा नेपालमा सुरु गर्ने सैद्धान्तिक सहमति भएको थियो । नितान्त मेरो देशको उन्नतिमा मेरो हुटहुटीले गरेको कामले त्यो त्यति ठूलो योजना नेपाल जाँदै थियो । अमेरिकी डलर ६ विलियन याने नेपालको वार्षिक बजेटको लगभग ५० प्रतिशत रकमको त्यो योजना मेरो जोडबलमा मेरो परिवारको सदस्यले आफ्नो कम्पनीलाई सहमत गराई नेपाल लैजान राजी गराएका थिए । नेपालको जीवन परिवर्तनमा कोशेढुङ्गा सावित हुने त्यो योजना नेपालमा लागू गर्नेबारे जव हामीले नेपाली अधिकारीहरुसँग छलफल गर्न थाल्यौँ, तब नेपालमा रहेका मेरा मित्रहरुले भनेका थिए, यति ठूलो योजना लागू गर्न कम्तीमा केही मिलियन डलर याने केही अर्ब नेपाली रुपैयाँ नेपालमा घूसबापत नछुट्याएसम्म सफल भइँदैन भनेर ।
तर मैले त्यो आयोजना मेरो फाइदाका लागि गरिरहेको थिइनँ । मैले त खालि नेपालको विकासमा त्यस योजनाले साँच्चिकै योगदान गर्ने छ र नेपालको जीवन परिवर्तन हुने विश्वास मैले लिएको थिएँ । अझ यसरी भनौँ त्यस कम्पनीले व्यापार गरिरहेको भए पनि मैले त खालि मातृभूमिको मायाले त्यो योजना नेपाल लैजान सहमत गराएको मात्र थिएँ । जब म कुनै आर्थिक गतिविधिमा संलग्न थिइनँ भने म कसरी देशकै विकासका लागि लान लागेको योजनाबाट घूस सक्थेँ र किन त्यो अमेरिकी कम्पनीलाई नेपालमा योजना लागू गर्न अझ त्यही देशको विकास गर्न पनि त्यहाँका सरकारी अधिकारीलाई घूस दिनुपर्छ भनेर । तर समय बित्दै जाँदा मेरा साथीहरुले भनेको कुरा सत्य सावित भएको मेलै महसुस गरेको थिएँ ।
अमेरिकी डलर ६ विलियन याने नेपालको वार्षिक बजेटको लगभग ५० प्रतिशत रकमको त्यो योजना मेरो जोडबलमा मेरो परिवारको सदस्यले आफ्नो कम्पनीलाई सहमत गराई नेपाल लैजान राजी गराएका थिए ।
हामीले त्यो कायकल्प गर्ने योजना नेपालमा लागू गर्न दर्जनौँ पटक बैठक ग¥यौं । प्रधानमन्त्रीकै उपस्थितिमा पटकपटक सबै जिम्मेवार अधिकारीसमेत राखी बैठक भए । छलफल हुँदा सबै सकारात्मक भएको जस्तो देखिन्थ्यो, त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओली त वास्तवमै त्यो योजना लागू गराउन प्रतिबद्ध भएको जस्तो देखिन्थ्यो । तर जब कार्यान्वयन गराउने निकायको रुमपा रहेका तत्कालीन लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत जो आज गर्भनर छन् र हालै अमेरिकाको राजदूत नियुक्त हुँदै गरेका तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाको टेबलमा विषय पुग्थ्यो । अनेक आलटाल अनेकन नियम बिनियमका कुरा तेस्र्याउने काम हुन्थ्यो । उनीहरुको ध्येय यस्तो हुन्थ्यो कि त्यो योजना सकेसम्म नेपालमा लागू नहोस् । मुख फोरेर कसैले हामीसँग त्यसबारे घूसको कुरा गरेका थिएनन् । तर मेरा त्यस विषयका अनुभवी साथीहरुले निरन्तर भनिरहेका थिए, बिना कुनै कमिसन एजेन्ट अनि बिना कुनै लेनदेनको कमिटमेन्ट बेगर कसरी यो योजना लागू हुन्छ र ? करिब १ वर्षको अथक प्रयास दर्जनौँ मिटिङका बाबजुद त्यो महत्वकांक्षी योजना जसले नेपालको जीवन साँच्चिकै परिर्वतन गरिदिने थियो त्यो समयमा गर्भमै तुहियो । यो योजना के थियो र नेपाली अधिकारीहरुले कसरी यसलाई गर्भमै तुहाए यसको बेलीबिस्तार समय आएपछि म पक्कै पनि लाउने नै छु । तर आज बाबुराम भट्टराईका माध्यमबाट यति ठूलो भ्रष्टाचारको कुरा गर्दा मलाई लागिरहेको छ, मैले पनि त्यो अमेरिकी कम्पनीको मध्यमबाट केही अर्ब रुपैयाँ नजराना नेपाली अधिकारीलाई चढाउन पाएको भए त्यो कामले मूर्तरुप लिने थियो कि ! नेपालको विकास गर्ने उद्देश्यसहित लगेको त्यो योजना लागू गराउन केही अर्ब रुपैयाँ घूसको रुपमा दिनु नै पर्ने थियो कि । नेपालका प्रधानमन्त्री र उच्च अधिकारीले इमान्दार प्रयत्न गरिरहेका थिए, सायद नेपालको नियमले नै नमिलेको होला भनी मन बुझाएर बसेको म बाबुरामको यो दाबी सार्वजनिक भएलगत्तै झस्किएको छ । मलाई पनि लागिरहेको छ केही अर्ब रुपैयाँ बाँड्न सकेको भए अमेरिकी त्यो आयोजना जसले नेपालमा ऊर्जा उत्पादनको काम गर्ने थियो, त्यो लागू हुने थियो कि ?
तर आज बाबुराम भट्टराईका माध्यमबाट यति ठूलो भ्रष्टाचारको कुरा गर्दा मलाई लागिरहेको छ, मैले पनि त्यो अमेरिकी कम्पनीको मध्यमबाट केही अर्ब रुपैयाँ नजराना नेपाली अधिकारीलाई चढाउन पाएको भए त्यो कामले मूर्तरुप लिने थियो कि !
र अब बाबुराम भट्टराईले आफूसँग भएको त्यो प्रमाण एक मिनेट पनि ढिला नगरी जनताको बीचमा सार्वजनिक गर्नुपर्छ । मैले आलेखको सुरुमै भने कि बाबुराम भट्टराई राज्यको सूचनामा उल्लेख्य पहुँच भएका देशका पूर्वप्रधानमन्त्री हुन् । उनले जे विषय सार्वजनिक गरेका छन्, त्यो कुनै सामान्य राजनीतिक आरोप प्रत्यारोप पनि होइन । एकजना पूर्व प्रधानमन्त्रीले आवश्यक पर्दा प्रमाण समेत सार्वजनिक गर्ने भनी दिएको एउटा गम्भीर रहस्य हो । जुन रहस्यका बारेमा नेपाली जनता आजसम्म जानकार छैनन् । तर बाबुरामको यो घोषणापछि जनता त्यो विषय तत्काल जान्न चाहिरहेका छन् । आजसम्म बाबुराम नेपाली जनताको हित र विकासका लागि राजनीतिमा लागेका हुन् भने उनले एक मिनेट पनि ढिला नगरी त्यो प्रमाण नेपाली जनता समक्ष सार्वजनिक गर्नुपर्छ । यदि यो उनले कुनै राजनीतिक चर्चाका लागि मात्रै भनिरहेका थिए भने बाबुरामलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा राज्यको सेवा सुविधा र सम्मान लिने अधिकार छैन । उनले भनेको विषय राजनीतिक जुम्लेबाजी मात्रै हो भने उनी आजभोलि सन्तुलनमा छैनन् भन्ने ठोकुवा गरिदिए हुन्छ । किनकि राजनीतिक जुम्लेबाजीका लागि यस्तो आरोप लगाउने गरिँदैन । उनले बोलेका कुरामा उनले शतप्रतिशत जिम्मवारी लिनुपर्छ र सार्वजनिक मञ्चमा भने जस्तै प्रमाण दिनुपर्छ । उनी प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् न कि कुनै विद्यार्थी संगठनका नेता । त्यसैले उनले तत्काल ३ नेताले गरेको भनेको ९ अर्ब घोटालाको प्रमाण जो उनीसँग छ, त्यो जनताको बीचमा राखून् । नभए उनले स्वयं आफैँलाई म बौलाहा हुँ भनेर घोषणा गरून् ।
(लेखक मायामी विश्वविद्यालय, अमेरिकामा प्राध्यापन गर्छन्)
प्रकाशित मिति: शनिबार, असोज २४, २०७७