अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताएका छन् ।
गत शुक्रबार कोरोना भाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दावी गरेका छन् ।
उनका चिकित्सकहरूले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
अरु लाखौं व्यक्ति सङ्क्रमित भएका छन् । राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल गएका थिए । भने सोमबार निवास फर्किएका थिए ।
निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकहरूले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने बताएका छन् । उनका फिजिसियन सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरूमा सहभागी हुन सक्षम रहेको जानकारी दिएका हुन् ।
स्थानीय समय अनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उनले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफू सहभागी हुन चाहेको बताएका थिए ।
टेलिफोनबाट गरिएको अन्तरवार्ताका क्रममा उनले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिएका थिए । सोही अन्तरवार्तामा राष्ट्रपतिय बहसमा भने आफू सहभागी हुन नचाहेको उनले बताएका थिए ।
राष्ट्रपतीय बहस आयोगका अधिकारीहरूले यही अक्टोबर २२ तारिखका दिन दोस्रो बहस आयोजना गर्ने तयारी गरे पनि ट्रम्पले अनिच्छा देखाएपछि बहस अन्यौलमा परेको हो ।
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लिकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् । त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको साथमा वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको साथमा सिनेटर कमला ह्यारिस रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७