काठमाडौँ । सिन्धुपाल्चोक र काठमाडौँ जोड्ने सबैभन्दा छोटो दुरीको साँखु–फटकेस्वार–बाहुनीपाटी मार्ग (मनमोहन मार्ग) निर्माणको कार्य आज शुभारम्भ भएको छ । पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले मार्ग निर्माणको शुभारम्भ गरेका हुन् ।
वि.सं. २०६५ सालमा माधव नेपाल प्रधानमन्त्री उक्त सडकको मनमोहन मार्ग नामाकरण गरी कालोपत्रे गर्ने काम भएको थियो । सडकको कमजोर गुणस्तर र सवारी आवतजावत बाक्लो हुने कारणले छिट्टै सडक जीर्ण हुन गएकाले निर्माण कार्य सुरु गरिएको हो ।
माधव नेपालको अगुवाइमा सडक स्तरोन्नति गरी डबल लेन र डबल लेयर पिच हुने गरी बजेटको ब्यवस्था भएको जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग बाहुनेपाटीलाई जिरो प्वाईण्ट मानेर वैकल्पिक राजमार्ग कै रुपमा सडक बन्ने भएकोले सडक गुणस्तरीयको हुने बुझिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगका जनतालाई राजधानी आवतजावतमा यस सडक निर्माणले सहज हुने बुझिएको छ । कार्यक्रममा प्रदेश सांसद मणिराम फुयाँल, सिन्धुपाल्चोक जिसस प्रमुख कृष्ण गोपाल तामाङ, मेलम्ची नपा मेयर डम्बर बहादुर अर्याल, शंखरापुर नपा मेयर सुवर्ण कुमार श्रेष्ठ, माधव नेपाल स्वकीय सचिव नितेश पौडेल, सडक सरोकार समिति अध्यक्ष सुर्यमान तामाङ लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७