वीरगञ्ज । पर्याप्त सुरक्षाकर्मी नहुँदा बाल सुधार गृहमा सुरक्षा चुनौती र कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । वीरगञ्ज महानगरपालिका –४बिर्तास्थित सवा कट्ठा जग्गामा २०७५ सालमा स्थापना भएको बाल सुधार गृहमा अहिले कोठाको अभाव रहेका छन् । कोठा अभावका कारण एउटै कोठामा सातदेखि आठजना नाबालक बस्ने गरेकाले कोरोना सङ्क्रमण जोखिमको सम्भावना बढेर गएको कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बताए ।
उनले व्यापक सुरक्षा र कोठाको अभावमा नाबालक थुनुवाहरु छतबाट हामफालेर भाग्ने समस्या एकातिर रहेको छ भने अर्कोतिर एउटै कोठामा धेरै बालक बस्ने गरेकाले कोरोनाको उच्च जोखिम पनि बढेर गएको बताए । कानूनी विवादमा परी १० वर्षभन्दा बढी र १८ वर्ष मुनिका ४४ जना बाल अभियुक्त सो गृहमा छन् । त्यसमध्ये अधिकांश ज्यान मुद्दा, सवारी ज्यान मुद्दा, जबर्जस्ती करणी, लागूऔषध, चोरी, डकैती जस्ता जघन्य मुद्दाका बाल अपराधी पुर्पक्षका लागि थुनामा छन् ।
सोही गृहमा एसिड काण्डका अभियुक्त पनि रहेका छन । विसं २०७६ भदौ २० गते वीरगञ्जको बिर्तास्थित गणेशमान चौक नजिक दुई नाबालकले विद्यालय गइरहेको अवस्थामा मुस्कान खातुनको मुहारमा तेजाब प्रहार गरेको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत एसिड प्रहार गर्नेलाई २० वर्षसम्मको कैद सजाय हुने गरी अध्यादेश ल्याएको छ । सो गृहमा पुस्तकालय बाहेक अन्य सुविधा नभए पनि पढ्न चाहने बाल अपराधीलाई भने पढाइ, पुस्तकको व्यवस्था तथा परीक्षा दिने व्यवस्थासमेत सुधार गृह प्रशासनले गर्दै आएको छ । यसैबीच, एडभोकेसी फोरम नेपाल प्रदेश नं २ जनकपुरधामले बाल सुधार गृहमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि रु एक लाख २० हजार मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
प्रदेश नं २ का संयोजक राजकुमार महासेठले बालसुधारगृह भनेको एक किसिमको कारागार नै हो जुन राज्यको नियन्त्रणमा रहेको छ । उक्त सामग्रीबाट सुधारगृहमा रहेका बालकलाई कोरोना सङ्क्रमित हुनबाट जोगाउने छन् भन्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७