जारी इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ। यूएईमा सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको हो।
खेलमा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे। दिल्लीका कागिसो राबडाले ४ विकेट लिए। एन्रीच नोर्ट्जे र अक्षर पटेलले २र२ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो। दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले।
शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ। तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो। बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७