काठमाडौँ । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माइन् ।
उनले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएकी हुन् । अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले जानकारी दिए । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उनका अनुसार आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । डा मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् ।
जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा डा दिप्ति श्रेष्ठ, डा नमिता सिङ्देन र डा मुकेश कुमारले शल्यक्रिया गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७