तीन दिन अघि कोरोनाद्वारा पोजेटिभ देखिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक भिडियो जारी गर्दै भने, ‘म ठिक छु ।’ उनको चीफ अफ स्टाफ मार्क मेडोसले भने, ‘राष्ट्रपतिमा जुन लक्षण देखिएको छ, त्यो चिन्ता बढाउने किसिमको छ ।’ यस्तै उनका उपचारमा संलग्न डाक्टर सीन कनलेले भने, ‘राष्ट्रपतिले राम्रो महसुस गरिरहेका छन् ।’
ट्रम्पको उपचार मेरिल्याण्डको सैनिक अस्पतालमा चलिरहेको छ जबकी श्रीमती मेलानिया ह्वाइट हाउसमा नै क्वारेन्टिनमा छिन् । छोरी इभांका र ज्वाईं जेरेड कुशनरको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अर्कोतर्फ रिपब्लिकन पार्टीले प्रचारको नयाँ रणनीति तयार गरेको छ । यसका लागि सिनेटर्सको एक समूह बनाइएको छ ।
शनिबार नै उनका डाक्टरले भने, ‘राष्ट्रपतिको उपचार चलिरहेको छ र उनी निकै राम्रो महसुस गरिरहेका छन् ।’ तर शंका उनका चीफ अफ स्टाफ मार्क मेडोसको बयानले बढायो । मेडोसले भने, ‘अबको दुई दिन निकै महत्वपूर्ण छ । यतिबेला हामीले रोगको गम्भीरताबारे सही जानकारी पाउन सक्नेछौं । हाल, हामी अहिले स्वास्थ्य लाभबारे स्पष्ट रुपमा केही पनि भन्न सक्दैनौं । ’
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७