भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंकागान्धीसित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ । भारतीय दण्ड संहिता उलङ्घन गरेको आरोप लगाउँदै उनीहरूका विरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
गौतमबुद्ध नगर प्रहरीले गान्धीत्व र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उलङ्घन गरेको दावी गरेको छ । यसअघि संहिता उल्लंघन गरेकै आरोपमा उनीहरूलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रुतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो ।
सामुहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हथ्रासतर्फ गइरहेका बेला उनीहरूलाई गिरफ्तार गरिएको हो । बलात्कार पीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो ।
गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरूको सवारी साधनलाई प्रहरीले रोकेपछि उहाँहरु हिँडेरै त्यसतर्फ लागेपछि प्रहरीले गिरफ्तार गरेको हो ।
प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुँदै प्रश्न गरेका थिए, “के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?” उनले भारतमा सामान्य मान्छेहरू हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
नेता गान्धीले आफूलाई प्रहरीले जबरजस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका थिए । उनले आफ्ना सवारी साधनहरू रोकिएकाले आफूहरू हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७