काठमाडौँ। मुक्ति नेपाल सिरहाले ११५ वर्षीय ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बीच पौष्टिक आहार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार सिरहा आयोजित कार्यक्रममा सिरहा नगरपालिका १२ निवासी ११५ वर्षीय बौवालाल सिंह र ७० वर्षीय लक्ष्मण दासलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले पौष्टिक आहारसहित दुवै जनालाई दोसल्ला ओढाएर सम्मान गरे । उनले दिवसमा मात्र नभई हरेक व्यक्तिले आ–आफ्ना घरका ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने वताए । संस्थाकी अध्यक्ष देवकुमारी महराको अध्यक्षमा भएको कार्यक्रममा कार्यक्रम निर्देशक श्यामकुमारी साह, नेपाली काँग्रेसका जीवछ गुप्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष वीरेन्द्र सिंहलगायतको सहभागिता थियो ।
१०३ वर्षीय छविलाललाई नगरपालिकाको सम्मान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ । नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद रु २० हजारका साथमा सम्मानपत्र प्रदान गरे ।
नेपालीलाई सम्मान गर्न नगरप्रमुख रिजालको टोली बिहीबार बुइपास्थित नेपालीको घर दम्कु पुगेको थियो । शारीरिकरूपमा अझै पनि सक्रिय रहनुभएका नेपाली १०० वर्ष नाघेपछि उहाँलाई सामाजिक सुरक्षाभत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडा कार्यालयले जानकारी दिनएको छ ।
ज्येष्ठ नागरिक नेपालीले कान कम सुने पनि उनि अझै स्पष्ट बोल्न र देख्न सक्ने अवस्थामा रहेको वडाध्यक्ष राईले वताए। “उहाँ यो उमेरमा पनि क्रियाशील हुनुहुन्छ । उहाँलाई अहिलेसम्म खास रोग पनि देखिएको छैन”, उनले भने , “नृत्यकर्म आफैँ गर्नुहुन्छ । हिँडडुलदेखि घरका सामान्य कामसमेत सघाउने गर्नुहुन्छ ।”
विसं १९७५ वैशाख १५ गते जन्मनुभएका नेपालीलाई केही समयअघि वडा कार्यालय बुइपाले पनि दोसल्ला ओढाएर सम्मान गरेको थियो । नगरकै सबैभन्दा ज्येष्ठ नागरिक छविलालका चार छोरा र दुई छोरी छन् । नगरपालिकाले हरेक वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा तीन हजारभन्दा बढी ज्येष्ठ नागरिक रहेको नगरप्रमुख रिजालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७