काठमाडौं। जागिर लगाइदिने बहानामा नक्कली इन्सपेक्टर बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरी निरीक्षक (इन्सपेक्टर) को बर्दी लगाएर प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेका बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसमा प्रहरीले बुधबार मध्यान्ह छापा मारी इन्सपेक्टरको बर्दी लगाएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोल निवासी २९ वर्षीय रायलाई नियन्त्रणमा लिएको डीएसपी मनोजित कुँवरले जनाए ।
यसअघि सरकारी छाप दस्तखत किर्ते मुद्दामा अजय राय पुर्पक्षका लागि तीन महिना २० दिन वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरेका थिए । रायमाथि ठगी मुद्दा चलाइने डीएसपी कुँवरले बताए ।विभिन्न प्रलोभनमा पारी २१ जनालाई परीक्षामा सहभागी गराइएको थियो। प्रहरीले प्रवेशपत्र, प्रश्न पत्रहरूसमेत बरामद गरेको छ। प्रहरीका अनुसार रायले पर्सा, सर्लाही र बाराका १३ जनासँग तीन लाख ३१ हजार रूपैयाँसमेत ठगी गरेका छन्।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७