काठमाडौँ । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए ।
यसअघि सोलुखुम्बुमा थुलुङ दूधकोशीमा ड्याम बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा बिद्युतगृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो । नेपाल सरकारको गौरवको आयोजना दूधकोशी जलाशययुक्त आयोजनाका कारण थुलुङ दूधकोशी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र सोही गाउँपालिका–४ को खन्योखर्कमा विद्युत् गृह निर्माण गर्ने गरी उत्पादन अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत खनालले जानकारी दिए ।
यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पुर्याउने योजना थियो भने अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्यखर्कमा निर्माण हुने विद्युत् गृहमा पुर्याइने छ । जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ ।
“भारतको लगानीमा निर्माण हुन लागेको दूधकोशी हाइड्रोपावर प्रालि विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता नेपाल सरकारसँग हुने चरणमा छ”, जनसम्पर्क अधिकृत खनालले भने , “यस सम्बन्धी विद्युत् प्राधिकरणले सहमतिको लागि विद्युत् नियमन आयोजनामा पठाएको छ, त्यहाँबाट सहमति प्राप्त भएपछि कम्पनीसँग सम्झौता हुन्छ ।”
आगामी मङ्सिरसम्ममा सम्झौताको काम सम्पन्न हुने उनको विश्वास छ । त्यस्तै आयोजनासम्बन्धी पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत अहिले विद्युत् विकासमार्फत जल तथा ऊर्जा मन्त्रालयमा सहमतिको लागि पठाइसकिएको छ । ऊर्जा मन्त्रालयको आवश्यक अध्ययन पश्चात वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुने वित्तिकै निर्माणको काम शुरु गरिने उनको भनाइ छ ।
यो कार्य अबको दुई महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको छ । त्यसपछि आयोजना निर्माणस्थल जाने बाटोको सर्वे, जग्गा अधिग्रहणलगायत काम शुरु हुने कम्पनीले जनाएको छ । उक्त आयोजना सम्पन्न गर्न करिब रु १४ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७