काठमाडौँ। बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना बिकको शव अझैपनि परिवारले बुझ्न मानेको छैन । घटना भएको ६ दिन भैसक्दा पनि अपराधीलाई कानुनी प्रकियामा ल्याउने कुरामा चित्त बुझ्दो जवाफ नआएपछि परिवारको शब बुझ्न नमानेको हो।
सम्झनाको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार चैनपुरमा भएको प्रदर्शनका सहभागीलाई प्रहरीले पक्राउ गरेपछि कानुन माथि शंका लागेको भन्दै पीडित परिवार सम्झनाले न्याय पाउने कुरामा ढुक्क छैनन्।
बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाइसकेको भएपनि अभियुक्तले अपराध स्वीकार नगरेको प्रहरीको भनाइ छ । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्ति राजेन्द्र बोहरा नै अपराधमा संलग्न छन् भन्ने खालको आशय नआएको पीडित परिवारको भनाइ छ ।
घटना र प्रकृति हेर्दा राजेन्द्रनै अपराधी हुन् भन्ने धेरै प्रमाणहरु भेट्टाईसकेको प्रहरीको भनाइ छ। आरोपित बोहोराले भने अपराध स्वीकार गरेका छैनन्। यस्तो अवस्थामा कुरा जतापनि मोडिन सक्ने भन्दै पीडित परिवारले जसरिपनि बलात्कारीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ ।
“घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ”, सङ्गठनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको सङ्गठनले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट सङ्गठनका अनुसार घटना विवरणअनुसार बुधबारको दिन खिकालाबाट पशुचौपाया बाँध्न करिब ५ बजे साँझ गएकी बालिका अबेरसम्म पनि घर नफर्केपछि खोजी गर्दै जाँदा स्थानीय शिवमन्दिरभित्र उनको शव क्षतविक्षेत अवस्थामा फेला परेको थियो ।
विज्ञप्तिमा भनिएको छ, “देशैभरि दलितमाथि घटेका हत्या तथा भेदभावका घटनामाथि तत्काल कानून बमोजिम कारवाही नगर्दा यस्ता खाले घटना दोहोरिँदै जाने र अपराधीको मनोबल बढ्दै जाने भएकाले यसखाले घटना दोहोरिन नदिन राज्यका तर्फबाट विशेष कदम चाल्न सरकार समक्ष जोडदार माग गर्दछौं ।”
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७