एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ । सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष आवेदन दिइने बताए ।
यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए । उनले चिनियाँ शहरमा भाइरस पहिलोपटक देखा परेको पनि स्पष्ट गरे ।
अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन् । तर यीन वेडोङ्को भनाईमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ । चीनमा सरकारी स्वामित्वको समेत चारवटा कम्पनीले कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेका छन् जसमा सिनोभ्याक पनि एउटा हो ।
सरकारी स्वामित्वको सिनोफार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ । यीनले भने, कोरोनाभ्याक खोपको परीक्षणमा ब्राजिल, टर्की र इन्डोनेसियाका २४ हजार व्यक्ति सहभागी छन् । यसबाहेक बंगलादेश र सम्भवत चिलीमा पनि यस खोपको परीक्षण गरिनेछ । सिनोभ्याकले धेरै संक्रमित भएका, ठूलो जनसंख्या रहेका तथा अनुसन्धान र विकासको क्षमता सीमित रहेका मुलुकहरु छनौट गरेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७