काठमाडाैं । पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा बुधबार बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।
अहिले सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको उनले बताए ।
यसैगरी मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चालनमा छ। यस सडकखण्ड अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ।
अहिले सडक दुईतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पनि पटकपटक पहिरो खस्ने गरेको थियो ।
यसैबीच पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौदीमा पहिरो जाँदा २ वटा गाडी पहिरोमा च्यापिएका छन् ।
काठमाडौंबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर पहिरोमा च्यापिएको ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । उनका अनुसार काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पनि अड्किएको छ।
यता, भीमफेदी–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२, देउरालीमा गुडिरहेको स्कर्पियो पहिराेमा पुरिएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो बुधबार बिहान १० बजेतिर पुरिएको हो ।
गुडिरहेको अवस्थामा एक्कासि माथिबाट पहिरो खस्दा जिप पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलकुमारसिं राठौरले जानकारी दिए ।
राठाैरका अनुसार स्कर्पियाेकाे चालकमात्र देखिएकाे र कति जना सवार थिए भन्ने खुलेकाे छैन । उद्धारका लागि प्रहरी घटनास्थल पुगिसकेकाे उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७