काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर आज भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
महाशाखाले जारी गरेको सूचनाअनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो सबै प्रदेशका केही स्थानमा भारी वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १ र २ स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने तथा सबै प्रदेशका थोरैथोरै स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७