काठमाडाैं । विगत ९ दिनदेखि जुम्लामा अनसन बसिरहेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ।
जुम्लाबाट सोमबार नेपालगन्ज ल्याइएका केसीलाई मंगलबार जहाजमार्फत् काठमाडौं ल्याइएको हो ।
नेपालगन्जबाट बुद्ध एयरको उडानमार्फत काठमाडौँ ल्याइएका केसीलाई विमानस्थलबाट सोझै ट्रमा सेन्टर लगिएको छ।
डा. केसी त्रिवि शिक्षण अस्पतालमा बस्न चाहेका थिए, तर उनलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको बताइएकाे छ ।
शिक्षण अस्पतालमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै उनलाई प्रहरीले ट्रमा सेन्टरमा पुर्याएको उनका सहयोगीले बताएका छन् ।
केसीले जुम्लाको कर्णालीस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा लिन अस्वीकार गरेपछि काठमाडौं ल्याइएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए ।
जुम्लामा अनशनका क्रममा धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी आइतबार काठमाडौंतर्फ आएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७