गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ रातचौरमा बाटो माथिबाट खसेको पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षका सफल कुमालको मृत्यु भएको छ । त्यस्तै पहिरोमा परेर ६० वर्षीय तिलक कुमाल घाइते भएका छन् ।
स्थानीय स्वास्थ्य चौकीमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ बाटो माथिबाट पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका थिए । रातको समयमा उद्धार गर्न नसकेपछि मंगलबार बिहान नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीले शव फेला पारेका थिए ।
शवलाई अहिले पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा लागिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७