बझाङ । रक्तस्राव नरोकिएपछि बझाङ साइपालका २ महिलाकाे हेलिकाेप्टरबाट उद्धार गरिएकाे छ।
दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका ती महिलालाई रक्तस्राव नरोकिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।
साइपाल – ४ घर भएकी १९ वर्षीया सुनिता रोकाया सुत्केरी भएको ९ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि जिल्ला बाहिर रिफर गरिएको थियाे भने र सोही ठाउँकी २५ वर्षीया ४ महिनाकी गर्भवती लामु तामाङको उच्च रक्तस्राव हुन थालेपछि धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा ठीक नभएपछि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला अस्पतालका डा सन्दीप ओखेडाले जानकारी दिए।
९ दिनसम्म धुली आधारभूत स्वास्थ्य एकाइमा उपचार गर्दा रक्तस्राव नरोकिएपछि बाहिर पठाउनुपरेको जनाइएको छ। साइपाल गाउँपालिकामा अन्य यातायातका साधन नहुदा उपचारमा समस्या हुने तथा बिरामीकाे अकालमै ज्यानसमेत जाने गरेको छ। कतिपय बिरामीलाई हेलिकाेप्टरबाटै उद्धारसमेत गरिएको छ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७