वीरगन्जः वीरगन्जका विभिन्न अस्पतालमा उपचारत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा जिल्लाका २ जना तथा बारा र रौतहटका १-१ जना छन् । शनिबार १ जना तथा आइतबार ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
भदौ ३१ गते नारायणी अस्पतालमा भर्ना भएका वीरगन्ज महानगरपालिका– ४ बिर्ताका ७८ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार अपराह्न करिब ४ बजे मृत्यु भएको थियो । स्वासप्रस्वास समस्या भएपछि भर्ना गरिएका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो ।
यस्तै नारायणी अस्पतालमै उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको पनि आइतबार बिहान ७ः३० बजेतिर मृत्यु भएको हाे । स्वास्थ्यमा समस्या भई ती पुरुष भदौ ३१ गते अस्पतालमा भर्ना भएका थिए ।
त्यसैगरी नारायणीमै उपचार गराइरहेका वीरगन्ज महानगरपालिका– ६ रेसमकोठीका ८८ वर्षीय संक्रमितको पनि आइतबार बिहानै मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । असोज २ गते अस्पताल भर्ना भएका उनको उपचारको क्रममा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै बाराकाे कलैया उपमहानगरपालिका– १३ बलिरामपुरका ६५ वर्षीय पुरुषको वीरगन्जको नगवास्थित नेसनल मेडिकल कलेजकाे अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ५ बजे मृत्यु भएको थियो ।
मधुमेह र मुटुसम्बन्धी रोग रहेका उनलाई स्वासप्रस्वासमा समस्या भएपछि असोज १ गते अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७