नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट गएराति ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।
दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका-२१ का पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्वासप्रश्वासमा समस्या भएपछि भदौ २० गते साँझ भेरी अस्पताल नेपालगन्जमा भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ २१ गते संक्रमण देखिएको थियो ।
उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शनिबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको श्रेष्ठले बताए ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७