विश्वको पछिल्लो गणतन्त्र नेपाल राज्य संस्कारित राजनीतिक चरित्रको अभावमा विवादित हुँदो छ । राजनैतिक दल तथा शीर्षस्थ नेतृत्वको सेवासुविधा प्राप्तिको स्वार्थ मोह उच्च छ । आदर्श नेतृत्व गुण र त्यागी चरित्रको अभावमा गणतान्त्रिक व्यवस्था दिनानुदिन कमजोर हुँदो छ । कुशासन तथा भ्रष्टाचारका विविध घटना तथा परिघटनाले मुलुक अनेकौँ समस्यामा फस्दै गएको छ । पार्टी तथा सरकार सञ्चालनमा पारदर्शी तथा संस्कारित राजनीतिक पद्धतिको विधि विधानलाई लत्याइएको छ ।
गणतन्त्रलाई दिगो तथा सुदृढ गर्न राजकीय नेतृत्वमा दूरदर्शिता तथा सुझबुझको अति धेरै खाँचो छ । बहुभाषिक, बहु सांस्कृतिक तथा बहुजातीय पक्षको बाहुल्यताको देशमा समावेशिता मुख्य हुन्छ । जनताको बहुमतको समर्थन तथा सक्रिय सहभागिताले मात्र गणतान्त्रिक शासन पद्धति मौलाउँछ । नेपालमा राजनीतिक पार्टी पद्धतिले समावेशिता तथा सहभागितालाई उच्च प्रश्रय दिएको पाइन्छ । तापनि नेतृत्वमा प्रजातान्त्रिक संस्कार विकास नहुनाले शीर्षस्थ नेतृत्व आफैँ एकल रुपमा नियन्त्रण विहिन चल्न खोज्दा पार्टी तथा सरकारमा विवादहरु सिर्जना हुने गरेका छन् ।
फलतः गणतान्त्रिक राज्य पद्धतिको अभ्यासमा प्रवेश हुनुपर्ने राजनीतिक पार्टीे र तिनका नेतृत्वहरु तदनुरुप विकास हुन सकेका छैनन् । राजनीतिक दल तथा राज्यका तीनै तहका सरकारका नेतृत्व तथा कार्यशैलीहरु जनविश्वासमा दरिला सावित हुन सकेका छैनन् । बिचौलिया प्रवृत्ति मौलाएको र पार्टी तथा सरकारहरु अपारदर्शी कामले धेरै विवादमा फसेका पाइन्छन् । तसर्थ सत्तापक्ष वा प्रतिपक्ष पार्टीहरुका नेतृत्व पंक्तिको असक्षमताका कारण मुलुकको प्रजातान्त्रिक, गणतान्त्रिक पद्धति मुर्झाउँदो र धरापमा फस्दो छ । प्रजातान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि राजनीतिक दलहरुमा राजनीतिक चरित्र विकास अपरिहार्य छ र यो लेख त्यसैमा केन्द्रित हुनेछ ।
ऐतिहासिक सिकाइ तथा दूरदर्शी राजनीतिको विकास :
विश्वलाई क्वार्लप्प निलेको ब्रिटिस साम्राज्यलाई हिमाली सानो राज्य गोरखाका राजा पृथ्वीनारायण शाहले आमने सामने भएर चुनौती दिए । नेपालको उपत्यका काठमाण्डौमा ब्रिटिसलाई छिर्न र राजनीतिक कब्जा गर्न शाह राजाकै कारण असम्भव भएको थियो । ब्रिटिसका इष्टइन्डिया कम्पनीका प्रतिनिधिहरु नेपालको दरवार तथा राजनीतिक शक्तिमा पसेर बदला लिन चाहन्थे । यसर्थ नेपालमा पस्ने र राजदवारलाई कमजोर बनाउने रणनीतिक उपायको खोजी ब्रिटिसहरुबाट हुनु स्वभाविक नै हुन्थ्यो ।
तसर्थ दरवारिया नेतृत्व बीचको आन्तरिक संघर्ष र विवादको बिजारोपणलाई दिगो बनाउने र निरन्तर मलजल गर्ने पात्रहरु दरवार भित्रै ब्रिटिसहरु तयार गर्न चाहन्थे । दरवारमा द्वन्द्वको दुखद श्रृंखलाको बिजारोपण पृथ्वीकै छोरा राजा सिंहप्रतापको अल्पायुको शासनावधि र मृत्युको पछिबाट प्रारम्भ भयो । नाति रणबहादुर शाह राजा गद्दी आसीन भएबाट दरवारमा नायबीको विषयलाई लिएर शक्ति संघर्ष शुरु भयो । नाबालक राजाको नायबी अधिकारमा आमा र काकामध्ये को हुने ? दुवै बीचमा शक्ति हत्याउने विषयमा वैरभाव तथा शत्रुता हुन पुग्यो । देवर भाउजूको आपसी संघर्षले नेपाल एकीकरणमा ठूलो धक्का लाग्यो ।
कहिले भाउजू, कहिले देवर जेल पर्ने इतिहास दोहोरियो । अन्तमा रणबहादुर उमेरले पूर्ण राजा भए काका बहादुर शाह जेल परे, भनिन्छ जेलमा नै विभत्स हत्याबाट मारिए । राजनीतिमा आन्तरिक विवाद र आपसी विश्वास कमजोर हुँदा छिमेकीले मौका पाउँछ भनेझैँ ब्रिटिस प्रतिनिधिहरुले अवसरको फाइदा उठाए । इष्टइन्डिया कम्पनीका रणनीतिकारहरु मध्यस्थताका लागि रणबहादुरकै कालमा नेपाली राजदरवारमा राम्ररी फस्टाए ।
राज उत्तराधिकारी तोक्ने, राजमाता हुनेदेखि सत्ता र शक्तिको प्राप्तिमा नेपाल दरवारमा ब्रिटिस साम्राज्यवादी राजनीतिले प्रवेश पाए । फलतः मुलुकमा देशभक्त राजनेताको अभाव, स्वार्थी राजनीतिको बढोत्तरी हुनाले आपसी विग्रह उच्च तथा अविश्वासिलो खाडल बढ्न थाल्यो ।
राजनीतिमा इतिहासको धर्म :
इतिहासका पाठहरु सकारात्मक तथा नकारात्मक दुवै हुन्छन् । जनताले शासकका उदारता तथा अमानवीय अपराधी गतिविधिको मूल्यांकन गर्दछन् तर इतिहास लेख्न सक्दैनन् । सत्ता राजनीतिको इतिहास शासकहरुले लेखाउँछन्, त्यसमा पनि स्तुति गान परक भन्ने बुझाइ पाइन्छ । यसर्थ निरंकूशता, जहानियाँ शासनका पिडाबाट साक्षात्कार आफै दरवारिया शक्ति र तिनका सन्तानहरुले समेत न्यायको लागि विद्रोहको विगुल फुकेको इतिहास साक्षी छ । तर विद्यमान राजनैतिक शक्तिहरुमा सत्ता उन्मादले इतिहास बिर्सेको र आफूलाई देवत्वकरणमा पुराएको भान छ ।
राज उत्तराधिकारी तोक्ने, राजमाता हुनेदेखि सत्ता र शक्तिको प्राप्तिमा नेपाल दरवारमा ब्रिटिस साम्राज्यवादी राजनीतिले प्रवेश पाए । फलतः मुलुकमा देशभक्त राजनेताको अभाव, स्वार्थी राजनीतिको बढोत्तरी हुनाले आपसी विग्रह उच्च तथा अविश्वासिलो खाडल बढ्न थाल्यो ।
नेपाली राजनीतिक नेतृत्वले भौगौलिक अवस्था, आर्थिक, सामाजिक तथा विविध पक्षको विश्लेषण गरेर जनमुखी राजनीति गरेको देखिँदैन । आफ्नै मुलुकको इतिहास तथा माटोबाट धेरै सिकेर जनतालाई आर्थिक समृद्ध पार्ने कुशल विकास र आर्याजनका बाटा खोल्ने राजनीतिक दर्शन अवलम्बन गर्न चुकेको देखिन्छ । विगतको सामन्तवादी चिन्तन आज पनि राजनीतिमा निरन्तर उठिरहेको र मौलाएको छ । प्रजातान्त्रिक पार्टीहरुमा इमानदार कार्यकर्ता शहिद भएझैँ निरंकूशताका विरोधी कतिपय राजदरवारका सदस्यहरु, राणाहरु, भारदारहरु पनि निर्ममतापूर्वक ज्ञात अज्ञात रुपमा मारिएका इतिहास पनि छन् । तापनि अत्याचार अति धेरैँ हुँदा आम जनताहरुले शासन सत्ताका विरुद्ध कठोर विद्रोह गरेका थिए ।
यसरी निरंकूशताको शासनबाट मुक्तिको सास फेर्न चाहँदा कति निर्दोष नागरिकहरुको पिडादायी नृशंस हत्या भयो जसको कुनै हिसाब किताब छैन । तापनि ठूलो राजनीतिक लगानी र आदर्शको नेतृत्व एवम् स्वार्थ त्यागबाट प्रजातन्त्र आउन सकेकोमा कुनै दुईमत छैन । कठिन घडीमा पनि निरंकूश शासनका विकल्पमा आमूल परिवर्तन चाहने नागरिकहरु देशमा धेरै प्रकट भए । ज्ञात अज्ञात शहिद बने, बनाइए । इतिहासका यी तीता यथार्थ अभ्यासका विषयमा ज्ञान हाम्रा राजनीतिक नेतृत्वमा नभएको त होइन ।
स्वाभिमान गुमाएको मानसिकताको निरन्तरता :
नेपाल प्रत्यक्ष रुपमा विदेशी औपनिवेशवादको शासन पद्धतिबाट बचे पनि नेपाली जनताहरु देशभित्रकै सामन्त, दलाल र निरंकशू पक्षधरता शासकका शिकार हुँदै आएको घटना बिर्सिन सकिन्न । नेपाल सार्वभौम देशका शासकहरु इष्टइन्डिया कम्पनी अंग्रेज शासकहरुको आदेश पालक भएका थिए । राणाहरुले जनतालाई जुकाले रगत चुसेझैँ चुसेको र ब्रिटिसहरुलाई रिझाएको पनि नबिर्सिने इतिहास हो । स्वदेशका राणा तानाशाहहरुको पारिवारिक सामन्ती राज्य राजनीतिको शिकारबाट दिल्ली मियो बनेर राजालाई मुक्त गरिएपनि देशमा पूर्ण प्रजातन्त्र फस्टाउन सकेन । राजनीतिक दल तथा राजाको आन्तरिक संघर्षले अन्ततः राजाले जिते र संसदीय प्रजातन्त्र हा¥यो । निरंकूश पञ्चायती व्यवस्थासहितको ३० वर्ष राजतन्त्र चल्यो ।
इन्डियन सहयोग, हस्तक्षेप तथा अप्रत्यक्ष मध्यस्थतामा संसदीय प्रजातन्त्र तथा संवैधानिक राजतन्त्रका नाममा नेपालमा प्रजातन्त्रको पुनर्बहाली भयो । संसदीय प्रजातन्त्रका घृणित खेलमा नेपालीले थोरैँ पाए तर धेरै गुमाए । अन्ततः नेकपा माओवादी नामको जनयुद्ध वा विद्रोहका नाममा मुलुकका सत्र हजार हताहत, लाखौँ जनता घरवारविहिन बनाइए । खरबौँ सरकारी तथा सार्वजनिक सम्पत्तिको विनाश गरियो । अन्तत : राजालाई एक्लो बनाएर संंसदवादी सात दल र विद्रोही नेकपा माओवादीलाई दिल्लीमा १२ बुँदे सम्झौतामार्फत गणतन्त्र स्थापनाको जग हालियो ।
राणाहरुले जनतालाई जुकाले रगत चुसेझैँ चुसेको र ब्रिटिसहरुलाई रिझाएको पनि नबिर्सिने इतिहास हो । स्वदेशका राणा तानाशाहहरुको पारिवारिक सामन्ती राज्य राजनीतिको शिकारबाट दिल्ली मियो बनेर राजालाई मुक्त गरिएपनि देशमा पूर्ण प्रजातन्त्र फस्टाउन सकेन ।
यसरी नेपालको इतिहास नै राष्ट्रिय स्वाभिमान बिर्सिएको र सत्ता प्राप्तिको लक्ष नै मुख्य पाठ हो भन्ने देखियो । यसर्थ नेपालका राजनीतिक पार्टीहरुले इतिहासबाट पाठ सिकेर राष्ट्रिय स्वाभिमानको राजनीतिक धर्म के हो ? कुनै मापदण्ड निर्माण गरेको देखिदैँन । जनताका लागि विदेशी प्लेनको चढाइ वा भारतीय भूमिमा चौकीदारी र अरबीमूलमा जोखिमपूर्ण जीवनको चक्र चलाएर पार्टी नेताका लागि सत्ता, शक्ति तथा राजकीय सेवासुविधा उपलब्ध गराउनु मात्र देखियो । यसर्थ विश्व परिदृश्यका आधारमा राजनीतिक स्पष्ट विधि तथा मापदण्ड बनाएर राष्ट्रिय स्वाभिमानको प्रजातान्त्रिक अभ्यासमा नेतृत्व चल्ने प्रतिवद्धता राजनीतिक पार्टीहरुले नगरेसम्म नेपालको सार्वभौमिकता सुरक्षित छ भन्न कठिन देखिन्छ ।
राजनीतिक नेतृत्व क्षमताको आत्मसमीक्षा :
वि.स. २००७ सालको प्रजातान्त्रिक अधिकार प्राप्तिपूर्व नेपाल देश दुनियाँबाट अलग थलग थियो । राजा तथा राणा शासकहरुले हातहतियार र मौखिक ऐनकानुन तथा सत्ता,शक्तिको दवाव एवम् मनोमौजी आदेशमा राज्य सत्ता चलाउथे । सर्वसाधारण जनताहरु शासकहरुको गुणदोष केलाउन र समिक्षा गर्न सक्दैनथे वा पाउँदैन्थे, कसैले प्रयास गरेमा मारिन्थे ।
तर वि.स. २००७ साल पछि २०७४ सालसम्म आइपुग्दा नेपाली जनताहरु ७ पटक, (२००७ साल, ०१७ साल, ०३७ साल, २०४६ साल, २०६१ साल, २०६३ साल तथा २०७४) को सत्ता परिवर्तनका साक्षी भएका छन् । मातृकादेखि केपी ओलीसम्म ७० वर्षमा झण्डै प्रजातान्त्रिक अभ्यासबाट मात्र दुई दर्जनभन्दा बढी नयाँ अनुहारका प्रधानमन्त्री चयन र पटक पटक फेरबदल भएका छन् ।
यो ७० वर्षको अवधिमा राजनीतिक पार्टी तथा तिनका नेताहरुको शासकीय सक्षमता, देशभक्तिभाव र जनताप्रतिको इमानदारिता मसिनो गरी नेपाली जनताले नियालेका पनि छन् । नेपालको राजनीति तथा नेताहरुका विषयमा बजारमा उपलब्ध पुस्तकहरुले छरपस्ट पारिदिएका छन् । साथै, विश्वमा देखिएका सबै राजनीतिक दर्शन र नेतृत्वका सफलता तथा विफलताको समीक्षा गर्दै नवीन आयामहरु तथा तिनका नेताहरुबाट पनि नेपाली नागरिकहरुले धेरै शिक्षा सिकिरहेका छन् । विश्व हातहतियार र सत्ता शक्तिको दवावबाट मुक्त भएर बौद्धिक लेखन, दार्शनिक बहस वा विचार तथा सरोकारवालाको सहभागिताको आपसी लेनदेनको सौदावाजीमा चलिरहेको स्थिति छ ।
यस्तो अवस्थामा पनि नेपालका राजनीतिक पार्टीहरु प्रजातान्त्रिक विधिबाट चल्न बाध्य नहुुनु र नेतृत्वको दास हुनुपर्ने बिडम्बनाले गणतन्त्रप्रति निराशा बढाएको हुनु पर्छ । नेतृत्वले मात्र सार्वजनिक सेवासुविधाका पद, राज्यका साधन स्रोत पाउनु पर्दछ र जनताहरु भोकै मर्दा पनि सामाजिक तथा प्राकृतिक न्यायसाथ बाँच्न पाऊँ भन्न नपाउने प्रजातन्त्र मौलाएको छ । खुला र पारदर्शी जमानामा पनि अंँध्यारो कोठामा स्वार्थपरक गरिने निर्णयहरुलाई कार्यकर्ताले प्रश्न उठाउन नपाउने कस्तो दलीय प्रजातन्त्र ? परिस्थितिवश सर्वोच्च पदमा पुगेकै आधारमा राजनीतिक दम्भ पालेर मै सर्वेसर्वा हुँ र मै भगवान हुँ भन्ने अहम्भावको नेतृत्व नेपाली जनताले भोग्न परेको छ । यो नै सम्पूर्ण प्रजातन्त्र तथा गणतान्त्रिक व्यवस्थाका लागि पिडादायी र अस्वीकार्य हुने गरेको छ ।
यो ७० वर्षको अवधिमा राजनीतिक पार्टी तथा तिनका नेताहरुको शासकीय सक्षमता, देशभक्तिभाव र जनताप्रतिको इमानदारिता मसिनो गरी नेपाली जनताले नियालेका पनि छन् ।
तर सत्ता र प्रतिपक्ष लुटको स्वर्गमाथि धावा बोलेको आरोपमा जनतालाई प्रताडित गर्न लाज नमानेर उत्रिएको देखिन्छ । यसर्थ प्रजातन्त्र र गणतन्त्रको वास्तविक विकास र समृद्धिका लागि ऐतिहासिक सत्य तथ्य तथा राजनीतिक आपसी संघर्ष, धैर्यता र सकारात्मक उपलब्धिहरुलाई आत्मसात गर्न सक्नु पर्दछ । तर नेतृत्वबाट यी पक्षको बेवास्ता गर्नु नै नेपाली राजनीतिको दुर्घटनाका कारण बन्ने गरेका छन्, तसर्थ नेतृत्वले आफूलाई समयानुकूल सुधार नगर्नु ठूलो राजनीतिक मूर्खता हुनेछ ।
राजनीतिक विवेकमा मात्र वैदेशिक हस्तक्षेप निराकरण :
नेकपा, नेका र सजपाको आन्तरिक द्वन्द्वका कारण आफू भित्र खोज्नु पर्दछ । सत्तासीन नेकपाभित्रको सत्ता संघर्ष किन ? पार्टी र सरकारका अन्तर्यमा विवाद किन ? यी राजनीतिक पार्टीहरुले विगतको नेपालको पिडादायी इतिहासबाट किन सिकिरहेका छैनन् ? इतिहासको संघर्ष र आजको शक्ति संघर्षमा कुनै फरक कारण छ र ? छिमेकीको घर झगडा, आपसी विवाद, रिसारिसको अनिष्ट घटनासित छिमेकीको पनि सुरक्षा तथा स्वार्थ जोडिन्छ ।
यसर्थ घरमा लाग्ने आगो वा विपतबाट बच्न सधैँ मियोको भूमिका छिमेकीले पाएमा जे गर्दा आफ्नो हित हुन्छ, त्यही गर्नु छिमेकीको धर्म हुन्छ । शायद अहिलेको नेपालको सत्तासीन नेकपाको आन्तरिक सत्ता संघर्षमा भारत तथा चिनको भूमिका पनि त्यही उद्देश्य अभिप्रेरित होला । तसर्थ राजनीतिक पार्टीहरुले आफूहरुले विवेक गुमाउने अनि वैदेशिक हस्तक्षेपको आरोप लगाउने नेतृत्व शैली उचित हुदैन । राष्द्रिय स्वाभिमान कमजोर बनाउने फेरि आफू मात्र राष्द्रवादी र अरु पार्टी र नेताहरु देशद्रोही हुन् भन्ने आलाप त कुनै पनि राजनीतिक पार्टी तथा नेताहरुलाई सुहाउँने कुरै होइन । यस्तो पातलो दूरदर्शी कुशलता भएको राजनीतिक विवेक कसरी सबल तथा सुदृढ मान्न सकिएला ?
अभिभावकीय कुशलताको अभावमा निष्फल राजनीति चरित्र :
कुनै पनि देशको सुशासनको मियो आधार राजनीतिक दर्शन हुन्छ । सुशासित व्यवस्था तथा जनताको विश्वास अभिवृद्धिको बलियो मियो चाहिँ पार्टी नेतृत्व हुन्छ । यसर्थ असल र खराव नियतको नेताले गर्ने राजनीतिको प्रतिफल पनि आकाश पाताल अन्तरको हुन जान्छ । देशको विकास तथा समृद्धिका लागि राजनीतिक नेताको अभिभावकीय भूमिका सम्मानित र विवादरहित चाहिन्छ । तर बिडम्बना शाहवंशीय राजाहरु आफ्नै पिता पूर्खाको त्याग, तपस्या तथा शासकीय सक्षमता तथा प्रभावको मर्यादामा रहेनन् वा अडिन सकेनन् । सत्ता स्वार्थमा अति अदूरदर्शी र आपसी संघर्षमा सिमित हुनपुगे ।
प्रजातन्त्र र गणतन्त्रमा नेतृत्व सोही विलासी जीवन तथा अपारदर्शी चरित्रमा चल्नु नै राजनीतिको अवमूल्यन हो । सधैँ असल, निस्वार्थी र न्यायिक अभिभावकको अभाव नै नेपाल स्थापनादेखि आजसम्मका राजनीतिक समस्या हुन् । यो विगतको इतिहासबाट पाठ नसिकी र विश्वजगतले नचाहेको कम्युनिष्ट नामधारी नेकपाको सरकार नेपाली जनताले बनाइदिएका छन् । नेपालमा समाजवादी दर्शनको कम्युनिष्ट पार्टीको सरकार बनेकोमा छिमेकी देश इन्डिया तथा पश्चिमा, युरोपियन मुलुकहरु खुशी छैनन् । पूँजीवादी र कम्युनिष्ट दर्शन विरुद्ध रहेका राजनीतिक पार्टीमा चलेका जुनसुकै देशका लागि नेकपा सरकार असफल भएको देख्न चाहनु स्वभाविक नै हुन्छ ।
कुनै पनि देशको सुशासनको मियो आधार राजनीतिक दर्शन हुन्छ । सुशासित व्यवस्था तथा जनताको विश्वास अभिवृद्धिको बलियो मियो चाहिँ पार्टी नेतृत्व हुन्छ ।
यसैले विरोधी शक्तिहरु नेकपाभित्र विवाद रोप्ने निहुँ खोजीरहेका हुन्छन् । यसर्थ चारैतिरबाट घेरामा पारिएको नेपालको अहिलेको राजनीतिलाई बढो बुद्धिमानीसाथ टुँग्याउनुको सट्टा वैयक्तिक सत्तास्वार्थको संघर्षमा फस्नु अति दुखदायी विषय हो । यसर्थ सत्तासीन नेकपा र सत्तालाई कमजोर पार्नु उनीहरुको राजनीतिक धर्म नै हुन्छ । नेकालाई बलियो हुन नदिनु र सजपा जस्ता पार्टीहरुलाई आन्तरिक संघर्षमा फसाउनुले नेपालको अस्थीर राजनीतिमा खेल्न पाइन्छ भन्ने विदेशीहरुको एकमात्र उद्देश्य हुन्छ । यसर्थ सबै राजनीतिक पार्टीहरु आपसी मतमतान्तरलाई विराम दिन पारदर्शी तथा सहभागी हुनु अति आवश्यक देखिन्छ । अन्यथा आपसी विग्रह र झगडाले पिडादायी निरंकूशताको जग बसाउने छ र नेतृत्वका लागि दुखद परिणाम निम्त्याउन समय लाग्ने छैन भन्ने कुरा विगतको इतिहासबाट मनन गर्न तयार हुनु पर्दछ ।
सार संक्षेपमा निष्कर्ष :
यसर्थ राज्य पद्धतिमा नेतृत्वमा रहेकाहरु आफू इमानदार तथा पारदर्शी हुनु पर्दछ । पेसागत नैतिकता र पारदर्शिता नेतृत्वका लागि अति बलियो हतियार हुन्छ । सबै रकम कलममा नेतृत्वको विवेकको परीक्षा हुने गर्दछ । नेतृत्व कुशलता अभाव तथा सुशासनमा कमजोरीले भ्रष्टाचार दुराचार बढाउँछ । तसर्थ चारैतिरबाट घेरिएको तथा आशंकामा फसेको नेतृत्व तथा देशले राष्ट्रिय स्वार्थका पक्षमा दह्रो खुट्टा टेक्न आफ्नो थैली राम्ररी बाँध्नु जरुरी हुन्छ ।
छिमेकीसँग मनमुटाव कम हुन हरसम्भव प्रयास र विकल्पहरु खोजी गर्दै विगतका त्रुटिहरु सच्याएर अगाडि बढ्ने राजनीतिक सुझबुझ चाहिन्छ । नेपाललाई भारत, चिन तथा अमेरिका जस्ता शक्ति राष्टहरुसँग एकसाथ भिडाउने रणनीतिक संकेतहरु देखिन थालेका छन्, त्यसबाट नेतृत्व कुशलतासाथ बाहिर निस्कन जरुरी हुन्छ । नेपालमा विदेशी दाता र सहयोगको स्वार्थले स्वाभिमानी र देशभक्त नेपाली नागरिकहरु धेरै पिडामा छन् र देश दिनप्रतिदिन कमजोर हुँदो छ । यसर्थ विद्यमान अवस्थामा सत्तासीन नेकपा पार्टी तथा मुलुकका प्रतिपक्ष दलहरु आपसी विवादको भूँमरीबाट निस्कनु पर्दछ । तर दलहरु ठिक उल्टो गतिमा निकासहिन किचडमा फस्दै जाने गल्ती गरिरहेका पाइन्छन् । नेपालप्रति थोरै पनि माया भएका राजनीतिक चरित्रका कुनै दलहरु मुलुकमा स्थापित र समाजमा क्रियाशील छन् भने इतिहासकालदेखिका विषयमा अवश्य ध्यानाकर्षित हुनु पर्दछ ।
छिमेकीसँग मनमुटाव कम हुन हरसम्भव प्रयास र विकल्पहरु खोजी गर्दै विगतका त्रुटिहरु सच्याएर अगाडि बढ्ने राजनीतिक सुझबुझ चाहिन्छ ।
इतिहासका घटनाबाट सिकेर देशको राजनीति गर्नु नेतृत्व र समग्र मुलुकका लागि फलदायी हुनेछ । नेता तथा सरकारका महत्वपूर्ण पदमा पुग्नु तथा आसिन हुनु कुनै ठूलो कुरा होइन । तर राजनीतिक चरित्र र कुशलता प्रयोगबाट देशका लागि के गर्न सकेँ मुख्य कुरा हो भन्ने ज्ञान जबसम्म राजनीतिक दल र नेतृत्वमा पस्दैन, त्यतिबेलासम्म नेपालको उन्नति सम्भव देखिँदैन । यसर्थ राजनीतिक चरित्र विकास गर्दै संवेदनशील नागरिक तयार पार्न उत्कृष्ट उदाहरण बनौँ ।
(पोखरेल, नेपाल सरकारका उपसचिव हुन् ।)
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७