काठमाडाैं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेलकाे सेट शुक्रबार नेपाल आइपुगेको छ । भारतमा केही समयअघि निर्माण भएकाे रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेको हो ।
आवश्यक कानुन बनाएर तिहारपछि रेल सञ्चालनमा ल्याउने रेल विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो ।
जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुने छ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने छ ।
रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ ।
लामो समयपछि नेपालमा रेल चल्ने भएपछि जनकपुरवासी थप उत्साहित भएका छन् उनीहरू रेल हेर्नका लागि बिहानैदेखि भेला भएका छन् ।
रेल हेर्नेहरूकाे भीडका कारण कोरोना भाइरस संक्रमण फैलिन सक्ने सम्भावना बढेकाे छ । रेल हेर्न आएका कतिपयले मास्क पनि लगाएका छैनन् भने दूरी पनि कायम गरिएकाे छैन।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७