काठमाडौं । दुर्घटनामा परी घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी ललितसिंह भण्डारीको शल्यक्रिया गरिएको छ ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रेस विज्ञप्ति निकाल्दै ग्रान्डी अस्पतालमा मुख्य चोटको सफल शल्यक्रिया भएको जानकारी दिएको हो । डाक्टर चक्रराज पाण्डेको टिमले भण्डारीको शल्यक्रिया गरेकाे थियाे ।
आइतबार धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।
झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि भण्डारीलाई धनगढी रिफर गरिएको थियो । त्यहाँ उनको निसर्ग अस्पतालमा उपचार भएको र सोमवार दिउँसो हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।
बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले अस्पतालमा ललितलाई भेट्दै उपाचारको सम्पूर्ण सहयोग राखेपले गर्ने बताएका थिए।
त्यस्तै, सिप्यानले पनि भण्डारीकाे उपचारका लागि आर्थिक सहयोग अभियान नै चलाएर रकम सहयाेगका लागि अनुराेध गरेकाे छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७