कर्णाली । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई ? अभियान सुरु गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोस्टहरुमा यात्रुले मास्क लगाए/नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख उदयसिं सिँजापतिले कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए ।
सुर्खेत बसपार्कमा ट्राफिक प्रहरी ‘तपाईंको मास्क खोई ? लेखेको प्लेकार्ड लिएर बसिरहेका हुन्छन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा प्रदेशका सबै जिल्लामा यो अभियान लागू गरिएको बताइएको छ ।
अभियानको पहिलो दिन आज सुर्खेतमा ट्राफिक प्रहरीले २ सय थान मास्क, १ सय थान पञ्जा वितरण गरेको छ ।
यो अभियान वीरेन्द्रनगर प्रवेश गर्ने सुब्बाकुना, बाङ्गेसिमल, कपासे तथा मुख्य चोकहरुमा लागू छ । रासस
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७