काठमाडाैं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको बुधबारको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।
सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
१९७६ सालमा सप्तरीमा जन्मेका सिंहले २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सेवा सुरु गरेका थिए । २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भएका उनले २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए ।
काठमाडाैंको बत्तिसपुतली बस्दै आएका पूर्व-प्रधानन्यायाधीश सिंहको ओम अस्पतालमा मंगलबार राति मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७