काठमाडौं । ६ महिनादेखि बन्दज रहेका लामो दूरीका सार्वजनिक यातायात आज बिहीबारदेखि सञ्चालनमा आउँदै छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेपछि यातायात चल्ने भएका हुन् । तर गाडीहरूले सिट क्षमताकाे आधा मात्रै यात्रु बाेक्न पाउने छन् ।
सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क र भाइजर लगाउनुपर्ने छ भने यात्रुले पनि स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।
आज विश्वकर्मा पूजा गरेर गाडी चलाउने यातायात व्यवसायीहरूले जनाएका छन् । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइने छ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको ख्याल गर्नु पर्ने सरकारकाे सर्त छ ।
यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । यसअघि बुधबार नै एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ ।
यसैगरी आजबाट उपत्यकामा होटल/रेस्टुरेन्टसहित सबै व्यापार–व्यवसाय सञ्चालनमा आउने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सबै खालका उद्योग–व्यवसाय चलाउन दिने भएका हुन् ।
अत्यावश्यक र निर्माण सामग्रीबाहेकका सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली कायमै रहने छ भने उपत्यका प्रवेश र बाहिर जान लगाइएकाे बन्देज हटेकाे छ ।
तर जात्रा, जुलुस, विरोधसभा, भेला, धार्मिक गतिविधि, शैक्षिक संस्था, सिनेमा हल, सैलुन/ब्युटीपार्लर, जिमखाना, अन्य समूहगत खेललगायत क्षेत्र भने अर्को आदेश नभएसम्म निषेध नै गरिएको छ ।
यसैबीच, आन्तरिक हवाई उडान भने असोज ५ गतेबाट मात्रै सुरु हुने भएको छ । बुधबार पर्यटन मन्त्रालयमा भएको आन्तरिक वायुसेवा सञ्चालनसम्बन्धी बैठकले असोज ५ गतेबाट नियमित उडानका लागि अनुमति दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरेको भए पनि आवश्यक तयारी नपुग्ने भन्दै असोज ५ बाट मात्रै उडान अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
उनले भने, ‘आन्तरिक उडान खुलेको त असोज १ बाट नै हो। तर, एयरलाइन्स कम्पनीले टिकट बुकिङ गर्नुपर्यो । आजको भोलि नै टिकट बुकिङ हुने वा टिकट काट्ने भन्ने हुँदैन भने अन्य तयारीका लागि पनि समय चाहिने हुन्छ ।’
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७