काठमाडौँ । १ जना सेनाको कर्णेल तहबाट अवकाश प्राप्त गरेका व्यक्तिको सम्पत्ति कति होला ? पारिवारिक विरासत बलियो भएको मान्छे हो भने त जस्तोसुकै पदमा रहेको भए पनि उसको जतिसुकै सम्पत्ति होस्, त्यसको चासो सर्वसाधारणलाई हुने कुरा पनि भएन । तर काभ्रेको ग्रामीण ठाउँबाट काठमाडौँ आएर पढेलेखेको मान्छे, जसको उपत्यकाभित्र भनौँ या देशका महँगो ठाउँमा पारिवारिक विरासतमा केही प्राप्त गरेको पनि छैन ।
हो त्यस्तै १ व्यक्ति जो नेपाली सेनाको कर्णेल तहबाट अवकाश पाएका छन्, उनको अस्वाभाविक सम्पत्ति देखेर जोकोहीले जिब्रो टोक्नुपर्ने अवस्था आएको छ । नेपाली सेनाको प्राविधिक कर्णेल तहबाट अवकाश भएका मंगललाल श्रेष्ठसँग काठमाडौँ उपत्यकाभित्र मात्रै आधा दर्जन आलिशान बंगला छन् भने त्यसबाहेक उनीसँग कति सम्पत्ति छ, त्यसको कुनै लेखाजोखा छैन । काम लिन र आफ्नो उद्देश्य फत्ते गर्न हरकोही सरकारी पदाधिकारीको मूल्य निर्धारण गर्दै हिँड्ने मंगललाल श्रेष्ठ करोडौँको ब्रिफकेस हातमै बोकेर हिँड्ने गरेका छन् ।
नेपाली सेनामा मंगललाल श्रेष्ठलाई चिन्नेहरुको भनाइ छ, ‘मंगललाल जागिर त सेनामा खान्थे । तर उनलाई महिनौँ नआएर एकैपटक हाजिर लगाउने पनि छुट थियो । त्यसैले उनी सेनाको जागिर त खाली समाजमा शक्ति प्रदर्शनका लागि मात्रै खाइरहेका थिए । उनको धन्दा भने अर्कै थियो ।’
नेपाली सेनाको प्राविधिक कर्णेल तहबाट अवकाश भएका मंगललाल श्रेष्ठसँग काठमाडौँ उपत्यकाभित्र मात्रै आधा दर्जन आलिशान बंगला छन् भने त्यसबाहेक उनीसँग कति सम्पत्ति छ, त्यसको कुनै लेखाजोखा छैन ।
खासमा मंगललाल श्रेष्ठ नेपाली सेनाका प्राविधिक थिए । सिभिल इन्जिनियर रहेका मंगललाल आफू सेनामा जागिर खान्थे भने आफ्ना परिवार र आफन्तका नाममा इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गर्थे । मंगललालको समय र धन्दा सबै आफन्तहरुको नाममा सञ्चालन गरिएका इन्जिनियरिङ कन्सल्टेन्सी चलाउन व्यतीत हुने गर्थ्याे । कहाँसम्म भने उनी सेनामा पनि त्यही आफ्नो कन्सल्टेन्सी मालामाल गर्न मात्रै जागिर खाइरहेका हुन्थे । विगतका दिनहरुमा नेपाली सेनामा लामो समयसम्म अनियमितता र भ्रष्टाचार हुने गरेका तथ्यहरु स्वयं वर्तमान सेनापतिले सेनाभित्र आन्तरिक सफाइ अभियान सञ्चालन गरेबाट प्रष्टै छ । त्यो समय मंगललाल नेपाली सेनाभित्रका प्राय सबै कन्सल्टेन्सी सम्बन्धी कार्यहरु आफ्ना तिनै कन्सल्टेन्सीको पोल्टामा पार्न सफल हुन्थे ।
एकातिर मंगललालले नेपाली सेनाभित्रै आफ्नो धन्दा चलाएका थिए भने अर्कातर्फ त्यही सेनाको संगठन प्रयोग गर्दै राज्यका विभिन्न विभाग र विकासे निकायहरुका इन्जिनियरिङ सम्बन्धी काम हात पार्ने गर्थे । पछिल्ला केही दशकदेखि नेपाली सेना आफ्नो प्रमुख दायित्वका रुपमा रहेको राष्ट्रिय सुरक्षाका अलावा राज्यले दिएको जिम्मेवारी बमोजिम विभिन्न ठाउँमा विकास निर्माणका काममा समेत संलग्न हुँदै आएको छ । यस्तै विकास निर्माणका कामलाई सहज बनाउने उद्देश्यले सेनाले आफैँ मातहतै इन्जिनियरिङ विभाग समेत निर्माण गरेको छ । सोही विभागमा कार्यरत रहेका मंगललाल विभागका तलदेखि माथिसम्मका सेनाका अधिकृत मात्रै होइन, तत्कालीन नेपाली सेनाका उच्च अधिकारी समेतलाई खुसी पार्दै आफ्ना कन्सल्टेन्सीमा सेनाभित्रको काम लिन सफल भइरहेका हुन्थे ।
गौरव इन्टिग्रेटेड डेभलपमेन्ट एसोसिएसन प्राइभेट लिमिटेड (गिडा) र गरिमा इन्टिग्रेटेड डेभलपमेन्ट एसोसिएन प्राइभेट लिमिटेड (गिडा) नामक २ उस्तै नामका कन्सल्टेन्सी चलाइरहेका मंगललालले कैयौं पटक गिडा नामका २ कम्पनीका लेटरप्याडको दुरुपयोग गरेको आरोपमा कारबाही समेत भोगिसकेका छन् । उनले ती दुवै कम्पनीको छोटकरी नाम गिडा राख्नुको एउटै उद्देश्य थियो– प्रतिस्पर्धामा सरकारी विभाग र निकायहरुलाई झुक्याउनु । केही पटक यसरी झुक्याएको आरोपमा आफ्ना कम्पनी कालोसूचीमा परेका भए पनि उनले त्यो धन्दा आज पनि जारी राखेका छन् ।
मंगललालले माथिका २ कम्पनी मात्रै होइन, आफ्ना आफन्तहरुको नाममा जिओसी नामको अर्को कम्पनी पनि चलाइरहेका छन् । बाहिर चर्चामा यी ३ वटा कन्सल्टेन्सी कम्पनी देखिए पनि उनको मातहतमा कम्तीमा ६ वटा कम्पनी सञ्चालनमा रहेको जानकारहरुको दाबी छ । गौरवमा प्राप्त गरेका सर्टिफिकेटहरु गरिमाको तर्फबाट निवेदन हाल्दा फर्जीरुपमा प्रयोग गरिरहेका हुन्छन् भने गरिमाबाट प्राप्त गरेका सर्टिफिकेटहरु फेरि फर्जीरुपमा गौरवमा पेस गरिरहेका हुन्छन् ।
विशुद्ध घूस खुवाएर करोडौँका आयोजना हत्याएका मंगललालले जिम्मा पाएका अधिकांश आयोजनामा गुणस्तरीय कामका नहुने गरेको इन्जिनियरिङ क्षेत्रका जानकारहरुले बताएका छन् । यसअघि सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागभित्रको आइयुडिपी आयोजनाअन्तर्गत फर्जी डकुमेन्ट पेस गरेको आरोपमा एसियाली विकास बैंकले गिडा र मंगललाललाई कालोसूचीमा समेत राखेको थियो । सरकारको महत्वपूर्ण निकायको रुपमा रहेको नेपाली सेनामा जागिर खाने भएका कारण यस्तो फर्जी काम गरे कारबाहीमा परिने हेतुले उनले कुनै पनि कम्पनी आफ्नो नाममा नराखी आफ्नो आफन्तको नाममा राख्ने गरेका थिए ।
मंगललालले माथिका २ कम्पनी मात्रै होइन, आफ्ना आफन्तहरुको नाममा जिओसी नामको अर्को कम्पनी पनि चलाइरहेका छन् । बाहिर चर्चामा यी ३ वटा कन्सल्टेन्सी कम्पनी देखिए पनि उनको मातहतमा कम्तीमा ६ वटा कम्पनी सञ्चालनमा रहेको जानकारहरुको दाबी छ ।
विकासे मन्त्रालय र विभागमा करोडौँ रुपैयाँ बोकेर हिँडिरहेका मंगललाल सरकारी निकायका उच्च अधिकारीको रेट समेत यतिउति भएको भन्दै आधारहीन चर्चा गरिरहेका हुन्छन् । नेपाली सेनाभित्र घूस खुवाएर उनले अधिकांश काम आफ्ना कम्पनीलाई लिन सफल भएका थिए भने सेनाभन्दा बाहिर पनि उनको यो गोरखधन्दा त्यसबेला मात्रै होइन, आज पनि जारी छ । अवकाश भएपछि पनि नेपाली सेनाभित्रका कामहरु उनले आफ्नो र आफू संलग्न समूहलाई दिलाउन सफल हुँदै आएका छन् ।
पछिल्लो पटक उनको समेत संलग्नतामा रहेका कम्पनीहरुलाई फास्ट ट्रयाकको इन्जिनियरिङको काम सेनाले जिम्मा लगाउँदा स्वयं सेना नै विवादित बनेको थियो । अन्तराष्ट्रिय रुपमा कालोसूचीमा रहेको कम्पनीलाई मंगललालकै संलग्नतामा फास्ट ट्रयाकको काम दिएपछि सैनिक नेतृत्व आलोचनाको घेरामा परेको थियो ।
कोभिडको महामारीबीच पोखरा, भैरहवा लगायतका अन्तर्राष्ट्रिय एअरपोर्टहरुमा अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै परामर्श कम्पनीले निरन्तर काम गरिरहेका कारण ती आयोजनामा उत्साहप्रद रुपमा काम भइरहँदा बहुप्रतिष्ठित फास्ट ट्रयाक अयोजनामा भने कोभिडको बहाना देखाएर अहिलेसम्म केही काम भएको छैन । करिब १ महिनाअघि कोरियन परामर्श कम्पनीको १ जना व्यक्ति आएर आयोजना क्षेत्रको भ्रमण गरेको भए पनि औपचारिक रुपबाट परामर्श कम्पनीले कुनै पनि काम आरम्भ गरेको छैन । यो काम प्राप्त गर्न मंगललाल नै सर्वत्र परिचालन भएको जानकारहरुको दाबी छ ।
नेपाली सेनाभित्र जागिर खाएर अकूत आर्जन गरेका कैयौं अधिकारीहरुलाई जागिरबाट अवकाशपछि पनि वर्तमान नेतृत्वको टिमले कारबाहीको दायरामा ल्याएको भए पनि मंगललाल भने न नेपाली सेनाको निगरानीमा परेका छन्, न सम्पत्ति शुद्धीकरण विभागको नै नजरमा परेका छन् । सेना जस्तो संवेदनशील ठाउँमा जागिर खाएर त्यही जागिरलाई आफ्नो निजी व्यापार प्रवद्र्धनका लागि प्रयोग गर्ने कुरा आफैँमा कन्फिक्ट अफ इन्ट्रेस्ट हो भने अर्कातिर यत्रतत्र भ्रष्टाचार गरी अकूंत आर्जन गर्नु अपराध पनि ।
नेपाली सेनाभित्र जागिर खाएर अकूत आर्जन गरेका कैयौं अधिकारीहरुलाई जागिरबाट अवकाशपछि पनि वर्तमान नेतृत्वको टिमले कारबाहीको दायरामा ल्याएको भए पनि मंगललाल भने न नेपाली सेनाको निगरानीमा परेका छन्, न सम्पत्ति शुद्धीकरण विभागको नै नजरमा परेका छन् ।
देखिने रुपमा ६ वटा आलिशान बंगला काठमाडौँमा भए पनि उनीसँग अर्बौंको सम्पत्ति भएको अनुमान गरिएको छ । सरकारी जागिर खाएर अर्बौंको मालिक भएका मंगललाल यसरी कहिलेसम्म मालामाल भइरहन्छन्, समाजको चासोको विषय हो । मंगललालको अस्वाभाविक सम्पत्तिबारे सोधखोज गर्न सम्पत्ति शुद्धीकरण विभागलाई किन साइत जुरिरहको छैन ? कि शुद्धीकरण विभाग पनि मंगललालकै मालामालको फेरोमा परिरहेको छ, त्यो भने निकै सोचनीय विषय बनेको छ ।
मंगललालबारे आगामी शृंखलामा पनि थप विषयहरु सार्वजनिक हुँदै जाने छन् । हाम्रो चासो यति हो, मंगललालले गैरकानुनी रुपमा भ्रष्टाचार गरी कमाएको अंकूत सम्पत्तिमाथि स्वयं उनलाई साँढे जसरी छोड्ने उनकै पुरानो विभाग नेपाली सेना, सम्पत्ति शुद्धीकरण र अख्तियार अनुसन्धान आयोगले अंकुश लगाओस् ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७