म आफ्नैै सुरमा सिपअनुसारको काम गरिरहनुपर्ने, नयाँ–नयाँ रचनामा रमाइरहनुपर्ने मान्छे । तर आजदेखि केही दिन सिर्जनात्मक काम थाति राखेर आवेग, उत्तेजना र प्रतिकारमा बिताउनुपर्ने भयो । यसबाट मेरा शुभेच्छुक साथीहरूप्रति पर्नजाने असुविधाका लागि सुरुमै क्षमाप्रार्थी छु ।
म सबैथोक सहन सक्छु तर कसैले नगरेको गल्तीका लागि चुनौती दिन्छ भने कदापि सहन सक्तिनँ ।
२०४५ सालदेखिको अहिलेसम्मको पत्रकारिताको यात्रामा आजजस्तो अपमानबोध भएको थिएन । व्यावसायिक पत्रकारिताको यात्रामा मलाई अपमान गर्ने, श्रम मार्ने धेरै भए तर तिनलाई छुट दिएकै हो । दुईवटा मुद्दा त जितेर पनि पैसा तिर्न सक्तिनँ भनेपछि माफी गरेको छु । तर यसपटक म त्यस्तो मुडमा छैन । अब जे हुन्छ कथाले डोहो¥याएअनुसार स्क्रिप्टलाई मोड दिने हो ।
केही मेरा शुभेच्छुक साथीहरूले मलाई भोलि पनि हामी पत्रकारितामै रहनुपर्ने भएकाले मुद्दा–मामलाको चक्करमा किन जाने, अहिलेको जटिल परिस्थितिमा आफ्नो पाउनुपर्ने लिएर छोड्दा हुन्छ भन्ने सल्लाह दिनुभएको थियो । तदनुसार मैले पनि ठिकै छ भनेर मन सम्झाएरै बसेको थिएँ ।
तर आज नागरिक अफिसमा विशेषगरी पिआर भनिने माधवी थापाले विचित्रको कुरा गरिन् । सायद यस्तै कुरा गर्ने क्षमता देखाउन उनी त्यहाँ नियुक्त भएकी हुन् ।
‘तपाईको कुरा के हो ?’ उनले सोधिन् ।
‘सुरुमा मसँग भएको सर्तअनुसार मैले काम गरेको अवधिको पैसा दिनु । दिनरात मेहनत गरेको, कारोना सङ्क्रमणको जटील बेला तीन महिनासम्म एकदिन पनि बिदा नबसी दिएको साथको स्मरण गर्दै थ्याङ्स लेटर दिनु,’ मैले भनेँ ।
‘तपाईले थ्याङ्स लेटर पाउनुहुन्न । त्यस्तो थ्याङ्स लेटरमा म सही नै गर्दिनँ । पहिले तपाईले अफिसको मेलको स्क्रिन–सट गरेर फेसबुकमा राखेर संस्थाको, विशेषगरी मेरो व्यक्तिगत प्रतिष्ठामा आँच पु¥याउने काम गर्नुभएको छ । त्यसकारण हाम्रो अपमान भएको क्षतिपूर्ति तिर्नू । त्यसपछि लिनुदिनु केही रहेछ भने हिसाब गरौँला ! तपाईविरुद्धको प्रक्रिया अब हाम्रो लिगल एडभाइजरले बढाउँछन्,’ उनले भनिन् ।
भनिन् के भन्नु ... सुविद गुरागाईलाई थर्काउन खोजिन् ।
उल्टे चोर डाँटे कोतवालको !
‘कस्तो केटाकेटी कुरा गर्नुहुन्छ ...!’ मैले भने, ‘तपाई वा तपाईहरूको व्यक्तिगत इगोको बार्गेनिङ मैले पाउनुपर्ने श्रम–पसिनाको मूल्यसँग हुन्छ ? फेरि तपाई कुन अपमानको कुरा गर्दैहुनुहुन्छ ...? राज्यले कार्यालय खोल्न र आवतजावत गर्न निषेध गरेको समयमा कार्यालय खोलेर त्यसअघि भर्चुअल अफिसमा काम गरिरहेका श्रमजीवी पत्रकारको अपमान गर्ने तपाईहरू ... ३० प्रतिशत तलब घटाएर अपमान गर्ने तपाईहरू ... तीन–तीन महिनासम्म कर्मचारीलाई तलब नदिँदा, पत्रकारलाई बेतलबी बिदामा बस्न दबाब दिँदा र एउटा सामान्य मेल पठाएर अकारण काम खोस्ने क्रममा नभएको अपमानबोध जाबो एउटा फेसबुक स्टाटसका कारण भयो ... मैले नराम्रो त त्यस्तो केही लेखेको थिइनँ । गजब छ तपाई र तपाईहरूको चेतना !’
‘प्रतिक्रिया दिनेले त लेखेका छन् नि !’
‘अब दुनियाँको मुख थुन्ने जिम्मा म लिन सक्तिनँ !’
‘त्यस्तो प्रतिक्रिया दिने प्लेटफर्म त तपाईले तयार पार्नुभएको हो नि !’
‘मैले पारेको होकि तपाईहरूले पारेको हो ?’
‘तपाई पत्रकार हो भने तपाईलाई चेतना हुनुपर्ने हो सामाजिक सञ्जालमा कसैको फोटो हाल्दा वा कोहीसँग सम्बन्धित कुरा लेख्दा उसको अनुमति लिनुपर्छ । त्यो स्टाटसका कारण एउटा संस्थाको मात्र होइन म एउटी महिलाको पनि देश–दुनियाँमा अपमान भएको छ । जसको चित्तबुझ्दो जबाफ त तपाईले दिनैपर्छ ।’
गुन गर्दो हलो कपाल छेडी माग्दो !
‘बेकारको कुरा नगर्नुस्, म तपाईलाई यहाँ कोही केटी देखेर जिस्क्याउन आएको होइन । म एउटी एचआरसँग कुरा गरिरहेको छु । मर्यादामा रहेर कुरा गर्नुहोस् । म एउटा व्यावसायिक पत्रकार हुँ । ऐरे–गैरे नथ्थु खैरेजस्तो कुरा नगर्नुस् !’
‘मलाई तपाईका यस्ता तर्कको केही काम छैन, हाम्रो वकिलले तपाईसँग जबाफ लिनेछन्, क्षतिपूर्ति चाहिन्छ हामीलाई !’
वाह, सुविद गुरागाई बेच अब सुकुम्बासीमा भएको त्यही एउटा घर पनि र तिर नागरिकलाई क्षतिपूर्ति । साला खोदा पहाड निकला चुहा !
कसम भन्छु, यस्तो सुनेपछि मेरो मनमा स्पष्ट दुई भाव आए । कि जुरुक्क उठेर उसलाई दुई झापड हिर्काएर, फुत्त निस्केर सरासर हनुमान–ढोका जानु कि चुपचाप घरतिर लाग्नु !
निःसन्देह मैले दोस्रो विकल्प रोजेँ ।
हामी सबैलाई थाहा छ । भैँसीका अगाडि बिन बजाइराख्नुको कुनै अर्थ छैन । यहाँनेर यति लेख्दै गर्दा भोलि फेरि ‘लु यसले त मलाई चोर भन्यो, भैँसी भन्यो भन्ने अर्को अप्टिक आइलाग्ने सम्भावना पनि उत्तिकै छ । तर जब ओख्लीमा टाउको हालिसकेपछि मुस्लोदेखि के डराउनु ?
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७