काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणका कारण थप ३ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मकवानपुर, गाेरखा र कास्कीका १-१ जना छन् ।
कोरोना संक्रमणबाट गोरखाकी १ महिलाको मृत्यु भएको छ । गोरखा बारपाककी ६३ वर्षीया महिलाको उपचारका क्रममा सोमबार काठमाडौंको छाउनी अस्पतालमा मृत्यु भएको हाे ।
यसैगरी कोरोना संक्रमणबाट पोखरा–१० का ७० वर्षीय १ पुरुषको पनि मृत्यु भएको छ ।
क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी मकवानपुरका ६८ वर्षीय वृद्धको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको छ । दम र मुटु रोगले ग्रसित मनहरी गाउँपालिका- ८ सिमपानीका वृद्धको सोमबार मृत्यु भएको हो ।
२ दिनदेखि बिरामी परेका वृद्धको घरमा मृत्यु भएको हेटौँडा- ४ कर्रास्थित आइसोलेसनका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए ।
हेटौँडा- १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार साँझ वृद्धलाई कोरोना पुष्टि भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७