भोजपुर । टक्सारमा करिब ३ करोड रूपैयाँको लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ ।
लामो समयदेखि खेती गर्नका लागि आकासे पानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाइ कुलो निर्माणले सहजता थपिदिएको छ।
कुलो निर्माणका लागि २ करोड ९६ लाख ८८ हजार रुपैयाँ खर्च भएको सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरले जनाएको छ।
एसियाली विकास बैंकको ८८.३ प्रतिशत र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपरको ११.७ प्रतिशत लगानीमा ९ किलोमिटर लम्बाइको कुलो निर्माण गरिएको हो।
पैँयापानी, मालबाँसे राजकुलो सिँचाइ आयोजनाले भोजपुर नगरपालिका-१२ टक्सारका पैँयापानी पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडाका १ सय ३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको छ।
यहाँ प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ। सिँचाइका लागि सुविधा थपिएपछि कृषक निकै खुसी छन् ।
स्थानीय कृषक कल्पना भण्डारीले भनिन्, 'लामो समयदेखि हामीलाई खेती गर्न ठूलो समस्या थियो, अहिले कुलो सम्पन्न भएर सञ्चालनमा आएपछि यस वर्ष हामीले समयमै खेती गरेका छौँ, हामीलाई नगदेबाली लगाउनसमेत सहज भएको छ ।'
भोजपुर नगरपालिका-८ को अखुवा, घट्टेखोलाबाट बस्तीसम्म सिँचाइ कुलो ल्याइएको हो। स्वामीनारायण निर्माण सेवाले सिँचाइ निर्माण गरेको कार्यालयका सूचना अधिकारी केन्द्रकुमार लिम्बूले बताए। रासस
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७