कुरा ती दिनका हुन्
जब हामी सँगै थियौँ
कुनै पर्खाल थिएन
हामी स्वच्छन्द विचरण गर्थ्यौं
कैयाैं पटक टाढा-टाढासम्म हामी पुगेका थियौं
त्यसबेला हामीले थाहा पायौं
हाम्रो गाउँभन्दा पर पनि एउटा रमाइलो संसार रहेछ
हामी अगाडि बढ्दै गयौं
संसार झनझन रमाइलो बन्दै गयो
यो अखण्डित यात्रामा
हामी अझ पनि पाइला सारिरहेछौं
यात्राको कुनै लक्ष्य छैन
यात्रा कहाँ टुंगिने हो त्यो पनि निश्चित छैन
तर पाइलाहरु चलिरहेका छन्
आखिर पाइला चाल्नु नै त रहेछ जीवन
कहाँ थियौं
कहाँ आइपुग्यौं
कहाँ पुगिने हो
केही निश्चित छैन
तर हामीलाई त्यो क्षितिज परको गाउँले तानिरहन्छ
लालायित हुन्छौं नयाँ क्षितिज छुन
जिजीविषाले डोर्याउने पाइलाहरु
बाँच्न चाहने मनहरु
पौरख खोज्ने हातहरु
हामी सँगैसँगै हिँडेका ती दिनहरु
आखिर तिनै त रहेछ जीवन
भिन्नता केही रहेनछ
हिजो आज भोलि
हामी पाइला चालिरहने छौं
जीवन बाँचिरहने छौं
आज दिनहरु फेरिए
हामी सँगै छौं
सँगै पाइला चालिरहेको छौं
तर त्यहाँ पर्खाल छन्
हामी स्वतन्त्र रुपमा अगाडि बढ्न सक्दैनौं
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७