काठमाडौं । नेपालमा अहिलेसम्म १ सय २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १ सय २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिए । संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उनको भनाइ छ ।
कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी संक्रमण देखिएको छ । महासंघका महासचिव रमेश विष्टले संक्रमित भएर आइसोलेशनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताए ।
महासंघले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७