पर्वत । फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा १ बालिकाको मृत्यु भएको छ ।
स्थानीय नवीन विकको घर पुरिँदा उनकी ३ वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गएराति २ बजेदेखि निरन्तर परेको वर्षापछि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन् ।
परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरीचौकीले जनाएको छ । १२ जनाको संयुक्त परिवार बसेको घरमा पहिराले क्षति पुर्याएको हो ।
घरमाथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुङ्गाले लागेर खसेपछि स्थानीयवासीले खोजी सुरु गरेका थिए । पहिराले विकका २ भैँसी र २ गाईसमेत पुरिएका छन् ।
त्यस्तै पहिराेबाट स्थानीयवासी रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ । सोही पहिराका कारण करिब १०० रोपनी धानखेतमा क्षति पुगेको वडाध्यक्ष टीकाराम गौडेलले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७