काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा गएराति गएको पहिरोमा पुरिएकामध्ये ७ जनाको शव फेला परेको छ भने पहिराेमा परेर अझै २४ जना हराइरहेका छन् ।
नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार शव फेला परेकामध्ये ४ जनाको पहिचान हुन बाँकी छ ।
नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भीरखर्ककी २३ वर्षीया जुनुमाया विक र ६० वर्षीया सर्किनी नेवारको मात्र सनाखत भएको प्रहरीले जनाएकाे छ ।
भीरखर्कदेखि नागपुजेसम्म गएकाे पहिरोले २४ घर पुरेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
बाह्रविसे नगरपालिका–७ को भीरखर्क, नागपुजे र नेवा टोलमा पहिरो गएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार र खोजी कार्य जारी राखेकाे छ ।
सभामुख अग्नि सापकोटासहितको टोली स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७