बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा १ वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।
उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।
बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका ३ घरमा क्षति पुर्याएको स्थानीय केदार पौडेलले बताए ।
आइतबार बिहान ५ बजे खसेको पहिरोले ३ घरका गोठमा समेत क्षति पुर्याएको छ । पहिरोको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७