सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तीमा ८ घर पुरिएका छन् भने भीरखर्कमा गएकाे पहिराेमा परी कम्तीमा १० घर पुरिएका छन् ।
घुम्थाङको पहिरोमा ३ जनाको शव फेला परेको छ भने दुवै ठाउँमा गएकाे पहिराेमा परी कम्तीमा २८ जना बेपत्ता भएकाे अनुमान गरिएकाे छ ।
स्थानीयका अनुसार नागपुजेमा बिहान करिब पौने ४ बजे आएको पहिरोले सिंगो बस्ती नै बगाएकाे हाे ।
यद्यपि घटनास्थलमा उद्धारका लागि प्रहरी जाँदै गरेकाले क्षतिकाे यकिन तथ्यांक भने आएकाे छैन । सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले घटनास्थलतर्फ जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए ।
पहिरोस्थल सदरमुकाम चौताराबाट करिब ५० किलोमिटरको दूरीमा पर्छ ।
यसअघि पनि सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो भने २ जना अझै बेपत्ता छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७