नेपालको राजनीति विभिन्न नामका राजवंश हुँदै संघीय गणतान्त्रिक व्यवस्थामा रुपान्तरित भएको छ । ठूलो त्याग र बलिदानीबाट उपलब्ध जनताको शासनमा राजनीतिक शक्तिहरु सत्तापक्ष वा प्रतिपक्षमा विभाजित हुने सर्वमान्य सिद्धान्त हुन्छ । राजनीतिक पार्टीहरु जनताका समर्थनमा जन्मिने, हुर्किने र स्थापित हुने विश्वास गरिन्छ र सबै पार्टीहरु जनसहभागितामा चल्दछन् भन्ने मान्यता राखिन्छ । तर नेपालमा स्थापित राजनीतिक पार्टीहरु दिनप्रतिदिन जनविश्वास गुमाउँदै छन् । कुनै पनि सरकारी नेतृत्व होस् वा पार्टीहरुका सर्वोच्च नेतृत्वले आफ्नो कार्यशैली, कामहरुको पारदर्शिता आदिको समग्र पक्षको सूक्ष्म विश्लेषण गर्न चाहँदैनन् । जनता वा सरोकारवालाका प्रश्नका उत्तर दिन तथा अनुभवी धारणालाई आत्मसात गर्न सकेको पाइँदैन । ती कुनै पनि नेतृत्वले जनताका यी जिज्ञासा तथा प्रश्नको खुलेर उत्तर दिनु र पारदर्शी हुनुको सट्टा निरंकूशता तथा दण्डात्मक धम्काइलाई रक्षाकवच बनाउने गरेको पाइन्छ ।
एकातिर जनताका माझबाट उठ्ने प्रश्नलाई दवाउन बिचौलियाहरुको प्रयोग तथा तिनैबाट बनावटी उत्तर खोज्ने, अर्कोतिर जिम्मेवार पदाधिकारी वर्गले पदीय दुरुपयोग गरेर उत्तर खोज्ने सचेत नागरिक, पार्टी कार्यकर्ता वा राष्टसेवकलाई खेद्ने संस्कृति मौलाएको छ । यो विकृतिलाई प्रजातान्त्रिक राजनीतिको नाम दिइएको छ । यसर्थ विद्यमान राजनीतिक पद्धति आवधिक निर्वाचनमा केन्द्रित भएपनि पूर्ण जनताको सहभागितामा चलेको पाइँदैन । धन, डन, मसल, ठेकेदार, व्यापारी र पैसावालको बलमा जनमत कब्जामा लिने र पारदर्शितामा विश्वास नगरी देशको नेतृत्व गर्ने हो भने राजनीतिक पार्टीहरुको भविष्य सुनिश्चित छैन । समाजवाद उन्मुख समाज, आर्थिक तथा सामाजिक संरचनाप्रतिको प्रतिवद्धता राजनीतिक पार्टीहरुले पूरा नगर्ने हो भने संघीय गणतन्त्रको भविष्य संकटापन्न देखिन्छ । पार्टीभित्र त्याग र आदर्शताको थालनी शिर्षस्थ नेतृत्वबाट खोजिन्छ । उच्च शिर्षस्थ नेतृत्वबाट उदाहरणीय कार्यको थालनी होस् । पार्टी नेतृत्वतन्त्रबाट कार्यकर्ता तथा जनताहरुले अनुभव गर्ने गरी वास्तविक प्रजातान्त्रिक शासनमा रुपान्तरण भएको स्पष्ट थालनी होस् अनि मात्र संघीयता बलियो हुनेछ । यो लेख यसै विषयमा केन्द्रित छ ।
जनविश्वासको राजनीति : नेपालको राजनीतिक गतिविधि विचित्रले तीव्र गतिमा अगाडि बढिरहेको पाइन्छ । शायद, यति छिटो छिटो सत्ता र राजनीतिक घटनाक्रम परिवर्तनको दौड विश्वमा कतै भएको होला ? यसर्थ घरि घरि फरक फरक दार्शनिक आधारका सत्ताका व्यवस्था धानेका शासकहरु उदाउने र अस्ताउने क्रम पनि नेपालको राजनीतिक विशेषता बनि आएको देखिन्छ । बलियो ठानिएका राज्य सत्ता र कुनै पनि सरकारका नेतृत्वहरु अति सजिलै परिवर्तन हुने र कुनै ठूला रक्तपात विहिनतामा ठूला ठूला सत्ता हस्तान्तरण नेपालका विशेषता हुन् । तापनि सत्तामा आरोहण भएपछि सबै घटनाका इतिहास बिर्सेर नेताहरु भष्मासुर शैलीमा शासन गर्न किन उद्धत हुन्छन् ? यसको चित्त बुझ्दो उत्तर पाउन सकिएको छैन । नेतृत्वमा जति जति सत्ता लोलुपता झाँगिन्छ, उति उति सरकारको लोकप्रियतामा ह्रास आउने र आसेपासे तथा सत्ता र शक्तिमा भएकाहरुमा छिटो कमाउने प्रवृत्ति मौलाउँदो रहेछ । फलत : राजनीति र प्रशासनमा भ्रष्ट र निकम्माको जमात बलियो बन्दो रहेछ र आपसी अविश्वासको अस्थिरताले देश तवाह बन्दो रहेछ । यही शासकीय चरित्रमा रुपान्तरण चाहेका नेपाली जनताले नेकपालाई २०७४ सालमा पूर्ण विश्वास गरेको देखिन्छ ।
दौडमा स्वार्थी राजनीति : लामो संघर्ष र राजनीतिक दर्शनमा जनविश्वासबाट सत्तामा पुगेको नेकपा नै राजनीतिक अस्थिरताको दौडमा हुनु राजनीतिक धोका हुन्छ । संघीय गणतान्त्रिक मुलुक प्रारम्भमै विवादमा पुग्नु स्वाभाविक घटना होइन र चिन्ताजन्य विषय हुन्छ । पार्टी तथा सरकार दुवैमा अपारदर्शिता मौलाएको र चुनावी प्रतिवद्धता हराएको छ । संघीय गणतान्त्रिक शासकीय पद्धतिमा नै विविध कमीकमजोरी भित्रिएका छन् । केन्द्रीय निरंकूशता झल्किने पार्टी पद्धति तथा सरकारी राजनीतिक तथा प्रशासनिक नेतृत्व शैली विकास गरिएको छ । आम पार्टी पद्धति तथा कार्यकर्ता तथा समर्थकहरुलाई बेवास्ता गरी स्वेच्छाचारी पार्टी तथा सरकारको शासन सञ्चालनमा रुचि बढेको हुँदा जनतामा निराशा बढ्दो छ । नेकपाको सरकार तथा पार्टी नेतृत्वका बीचमा उत्पन्न हुने दरारले राजनीतिक स्थिरता र सुशासनको सपना देखेका जनतालाई अविश्वासको बाटोमा पु¥याएको र देशको विकास गति ठप्प र भ्रष्टाचारमा अकल्पनीय वृद्धि भएको पाइन्छ । एउटै पार्टीभित्र पार्टी तथा सरकारको सर्वोच्च नेतृत्वमा पुगेका धेरै नेताहरु सक्रिय राजनीतिमा विद्यमान हुनु पनि समस्या बनेको छ । पार्टी तथा सरकारमा हिस्सेदारी समान रुपमा खोज्ने शिर्ष नेताहरुको वैयक्तिक स्वार्थको उचित व्यवस्थापन नहुनु पनि ठूलो समस्याका रुपमा देखिएको छ । गुट उपगुटका वैयक्तिक स्वार्थका कारण एकातिर टाल्यो, अर्कोतिर भ्वाँग पर्ने र सधैँ किचकिचमा पार्टी र सरकार रुमल्लिँदा नेकपाको सरकारले कुनै विशेष नतिजा दिन नसकेको र अढाइवर्ष उल्लेखनीय नभएको आमजनताको गुनासो सुनिन्छ ।
राजनीतिमा नेतृत्वको उचाइ तथा विशेषता : विद्यमान नेपालका राजनीतिक पार्टीहरुमध्य सत्तासीन नेकपा अति ठूलो र धेरै सर्वोच्च तहका नेताहरु भएको पार्टी हो । ती नेताहरुका आ आफ्ना शासकीय शैली, कार्य व्यवहार र बोलीवचन हुन्छन् । कसैलाई मन पर्ला, नपर्ला तर आफूलाई लागेका कुराहरु अति स्पष्ट राख्ने, समसामयिक परिस्थितिमा उचित र छिटो निर्णय दिन सक्ने नेता नै पार्टीहरुमा सर्वशक्तिशाली हुन सक्छन् भन्ने देखिन्छ । माओवाद वा नक्सलवादको प्रभावबाट राजनीतिक जीवन प्रारम्भ गरेका कम्युनिष्ट नेताहरुलाई आदर्श ठान्ने जेल बासको कदर गर्ने कारण पनि तिनै हुन् । राजनीतिक आदर्शका लागि युवा उमेर त्यागेका तथा जेलनेल भोगेका विद्यमान प्रधानमन्त्री ओली लगायतका धेरै नेपाली कम्युनिष्ट पार्टीका नेताहरु २०४७ सालपछि संसदीय राजनीतिको मूल धारमा आए । नेकपा एमाले चुनावी प्रतिस्पर्धी खुला राजनीतिको माध्यमबाट निरन्तर जनताका बीचमा पुग्ने शक्ति बन्न थाल्यो । राजनीतिक तथा शासकीय हरेक गतिविधि जनता समक्ष ऐनाझै पारदर्शी रुपमा प्रस्तुत भएर जन अनुमोदनबाट सदा सांसद चुनिएर आउनेहरुको संख्या पनि नेकपामा ठूलो पंक्तिका नेताहरु छन् । कोही उच्च योग्यताका प्रमाणपत्रले युक्त पनि होलान् तर प्रायः नेताहरु तत्कालीन पार्टी नीति अनुसार बुर्जुवा शिक्षालाई त्यागेर संघर्षमा समर्पितहरु छन् । तिनीहरुसंग औपचारिक प्रमाणपत्र हासिल गरेका योग्यताका उपाधिहरु छैनन् । तर जेलजीवन वा संघर्षको मैदानमा र हुँदा विभिन्न विषयमा स्वाध्यायबाट दख्खल नेताहरु धेरै पाइन्छन् । विशाल ज्ञान, बौद्धिकता र तार्किक क्षमताले आलोचक तथा प्राज्ञिकहरुलाई नतमस्तक बनाउने कलाका उच्च हैसियतमा प्रधानमन्त्री ओलीको नाम विशेष रुपमा लिइन्छ । नेपाली राजनीतिक घटनावली र मुद्दामाथि फरक व्याख्या र दृष्टिकोण पनि प्रमको विशेषता मानिन्छ ।
फरक फरक शैलीका कम्युनिष्ट नेताहरु : बहुदलीय पद्धतिको राजनीतिक अभ्यासले होला, नेपालका कम्युनिष्टहरु आध्यात्मिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा सामाजिक र शैक्षिक दर्शनमाथि समाजको मूल्यमान्यताको कठघरामा बसेर विहंगम बहस गर्न तयार हुन्छन् । सार्वजनिक जीवनकालका सबै गतिविधि तथा क्रियाकलापहरु खुला राखेर आलोचना प्रत्यालोचनामा अडिग हुन सक्ने र तार्किकतासाथ प्रतिरक्षामा उभिने कम्युनिष्टहरुको पुरानो पुस्ता पछिल्लो अवधिमा नैतिक क्षयीकरणमा पुगेको र दोस्रो, तेस्रो पुस्ता विवेकको बन्धक बनेको अवस्थाले पार्टीभित्र खुलेर बहस हुन छाडेको देखिन्छ । नेपाली राजनीतिका सगरमाथाका प्रतिविम्ब हुन सक्ने नेताहरु धनवाद, नातावाद, परिवारवाद र नितान्त गुटको स्वार्थवादमा फस्दा राजनीति नै दुषित र घृणित हुन पुगेको छ । कम्युनिष्ट सिद्धान्तको सामाजिक जीवन तथा राजनीतिमा खिया लागेको छ । पार्टीभित्र वा बाहिर लुकीछिपी अदृश्य प्रहार गर्ने र एउटाले अर्कोलाई नाङ्गेझार पार्ने विकृत मानसिकताको नेतृत्व चरित्रलाई सच्चाउनुको सट्टा मलजल गर्ने बिचौलियाहरुको भूमिकामा पार्टीका कार्यकर्ताहरुले आफ्नो सुनौलो भविष्य देख्ने फरक फरक शैलीको विकास भएको छ ।
कथनी र करणीमा फरक राजनीतिक संस्कृति वृद्धि : राजनीतिमा छलकपट र धोकाधढी सामान्य भएको छ । आमने सामने हुँदा सत्तापक्ष र विपक्षको एकखालको व्यवहार तर टाढा हुँदा दलका कार्यकर्ता, समर्थक वा विरोधी दल वा समूह तथा नेताहरुमाथि गरिने कटुप्रहार फरक फरक हुन्छन् । कुटनीतिक क्षमता नेताहरुमा हुनु राम्रो मानिएला बाहिर देखिने तथा वास्तविकतामा भोगिने एउटै व्यवहार वा चरित्रको अभावमा जनविश्वास राजनीतिबाट उठ्दो छ । कथनी र करणीमा फरक नहुनु राजनेताको पर्याय वा विशेषता हुनु पर्दछ तर थर्काएर, धम्काएुर र अनेक राजनीतिक बहाना बनाएर मुलुकमा राजनीतिक मियोमा रह्ने बिचौलिया प्रवृत्तिले पार्टी पद्धति समाप्त भएका छन् । स्वार्थमा रमाउने तथा अस्थिरता निम्त्याएर मौकामा चौका हान्न खोज्नेहरुलाई पार्टी नेतृत्वले सामूहिक रुपमा किनारा लगाउनुको सट्टा गुटगत रुपमा प्रोत्साहित गर्ने र सत्ताको स्वाद चखाउने अभ्यास बढेको छ । यस्तो विकृत राजनीतिक अभ्यासमा सही तरिकाले दोस्रो वा तेस्रो पुस्तामा राजनीतिक सत्ता हस्तान्तरण कसरी सम्भव होला ? यो सत्यलाई नेकपाका दोस्रो पुस्ताका नेता भनिने छ सदस्यीय समस्या समाधान समितिका नेताहरुले एकमतले स्वीकारेको देखिन्छ ।
खुला संसदीय राजनीतिक अभ्यासमा दलीय स्थान : नेपालको संसदीय राजनीतिक अभ्यासमा २०४७ सालपछि दुई नितान्त फरक दर्शनका राजनीतिक पार्टीहरु सत्ता र प्रतिपक्षमा स्थापित भए । यसर्थ शासकीय सुशासन वा कुशासनमा नेपाली काँग्रेस सरह नै कम्युनिष्ट नेताहरु पनि साझा हिस्सामा छन् । प्रमुख प्रतिपक्षको भूमिकामा नेकपा एमालेले हरेक राजनीतिक, प्रशासनिक, आर्थिक जस्ता घटनावलीहरुमा नेतृत्वको प्रत्यक्ष, अप्रत्यक्ष संलग्नता बढायो । नेपाली काँग्रेस सत्तासीन र आफू प्रतिपक्षमा हुँदा वा आफू सत्ता र नेका प्रतिपक्षमा हुँदा संसदीय राजनीतिमा नेकपा एमालेको स्थान सधैँ मुख्य मियोमा देखिन्छ । यसर्थ नेपाल र विदेशी राष्टहरुसंग हुने हरेक सहमति, सन्धि, सम्झौता र लेनदेनका सौदाबाजीमा नेकपाका कुनै शिर्ष नेताहरु अनविज्ञ र अछुतो अवश्य पनि छैनन् । तसर्थ सत्ता र शक्तिको मूल आधार नेपाली राजनीतिको अस्थिर वातावरणमा सरकार बनाउने, भत्काउने र फेरबदल गर्ने हैसियतमा आफ्नै विवेकमा वा अरुको उक्साहटमा नेकपाको सक्रिय सहभागिता आश्चर्यको विषय हुँदै होइन । यसर्थ २०७७ असार १४ गते मदन भण्डारी जन्मदिवस स्मृति सभामा सम्मानीय प्रधानमन्त्रीको संबोधनको अभिव्यक्ति गहिरो अर्थ दिने खालको लाग्दछ । झण्डै दुईतिहाई निकटको नेकपाको नेतृत्वको सरकार हटाउने प्रयासमा दक्षिणी छिमेकी देशको दौडधूप र आफ्नै देश र पार्टीभित्रका षडयन्त्रकारीहरुकोे संलग्नताको खेल शुरु भएको कथन अति पिडादायी हुन्छ । विगतमा संसदीय फोहोरी राजनीतिक खेलाडीका आत्मस्वीकृत अभिव्यक्ति अस्वाभाविक भएपनि यथार्थ तथा तीतो कठोर लाग्दछ ।
पार्टी पद्धतिको शासकीय प्रवृत्ति र अभ्यासरत अक्षम्य कमजोरीहरु : पार्टी पद्धतिको शासकीय प्रवृत्ति र अभ्यासहरु निष्पक्ष, तटस्थ र पारदर्शी हुन सकेनन् । पार्टीका आस्थाका खोल ओढेका बिचौलियाहरुका कब्जामा सत्ता,साधन स्रोत सुम्पिएर देश र जनतामाथि अक्षम्य कमजोरीहरु दलका तर्फबाट धेरै भएका पाइन्छन् । उदाहरणका लागि प्रशासनिक वृत्तमा आफ्नो मान्छे, हाम्रो पार्टी वा आस्थाको मान्छेलाई गोप्य सौदावाजीमा विभिन्न जिम्मा दिने र सबैतिर आफ्नो पार्टी, गुट, समूहको कब्जा जमाउने प्रवृत्ति शासकीय चरित्रमा प्रशस्त पाइन्छ । मुलुकमा सुशासन वा कुशासन के को बढोत्तरी छ ? सबैले देखिरहेका छौँ । शासकीय मानसिकता नै खराब र असल छुटयाउन नसक्ने विवेक गुमेको नेतृत्व तथा बिचौलियाको पकडमा फसेका धेरै अपारदर्शी भएको छ । यो वा त्यो पार्टीको कुरा होइन, सबै नेपाली राजनीतिक पार्टी तथा नेतृत्व एवम् तिनका सरकारहरु कुशासनमा नराम्ररी फसेका छन् । कर्मचारीको पोशाक धारी, पेसागत हक अधिकारको दावी गर्ने टेड युनियनकर्मी बदनाम चरित्रका बिचौलियाहरुले सार्वजनिक प्रशासनमा सौदावाजीको प्रश्रय पाउँदा सरकार, राजनीतिक पार्टीका नेताहरु जनताका माझमा धेरै अविश्वासका परीक्षणमा परे, छन् र आमूल परिवर्तन नभएमा भविष्यमा के हुन्छ ? यसै भन्न सकिन्नँ ।
इन्डियन छत्रछाया र नेपाली मानसिकता वा बाध्यता : नेपालका हरेक राजनीतिक घटनाक्रम, विश्व राजनीतिक परिवर्तन र आन्तरिक सत्ता परिवर्तनमा समेत सहयात्रा र मध्यस्थता छिमेकी इन्डियाको रह्यो । नेपालको मन्त्रीपरिषदमा इन्डियन प्रतिनिधि बस्ने र उत्तरमा सुरक्षा चेक पोष्ट राख्ने देखि हरेक राजनीतिक तथा प्रशासनिक क्षेत्रमा इन्डियाको उच्च चासो नेपालमा प्रारम्भदेखि नै रह्दै आएको देखिन्छ । विदेश नीति तथा वैदेशिक सम्बन्धका विषयमा राजनीतिक पार्टीहरुबीच एकता नहुने र एउटै पार्टीमा समेत मतान्तर हुँदा देश र पार्टीहरुभित्र इन्डिया खेल्ने र कतिपय पार्टीहरु फुट्नेसम्मका इतिहास पनि हाम्रा अनुभव हुन् । नेपालमा राजनीतिक परिपक्कवता र नेतृत्व क्षमतामा आत्मविश्वास अभिवृद्धि हुँदा कालान्तरमा नेपालको सार्वभौमिकता र राजनीति केही स्वाधिन भएको अनुभव गरिएको सत्य हो । भूपरिवेष्टित वा भारत परिवेष्टित बाध्यतालाई तोड्दै नेपालको छिमेकी चिन तथा अन्य विदेशीहरुसंग केही सुमधुर सम्बन्ध बढेको पनि यथार्थ हो । तापनि दक्षिण एशियाको सुप्रिम पावरको महत्वाकाँक्षी इन्डियाले वरिपरिका सबै छिमेकीमाथि निगरानी गरिरहेको पाइन्छ, जुन उसको स्वार्थमा स्वाभाविक पनि हो । यही कारण नेपालको राजनीति र प्रशासनिक क्षेत्रमा चाहिँ इन्डियाले सधैँ गिद्धे आँखा लगाउने गरेको तथा आफ्नो अनुकूलको वातावरण बनाउन हरप्रयास गरिरहेको उसका क्रियाकलापहरुबाट स्पष्ट हुन्छ ।
घर झगडा, छिमेकी मध्यस्थताका पीडा : विगतमा आन्तरिक शक्ति संघर्ष तथा सत्ताका लागि झगडा गर्दा जानेर नजानेर छिमेकीलाई मियोको भूमिका दियौँ । उनीहरुले गरेका हस्तक्षेप कसैका लागि अमृत र कसैका लागि विष भयो । कोही जयकार गर्ने र कोही मूर्दावाद भन्ने भयौँ तर एकजुट भएनौँ । यसर्थ आफ्नो पक्षमा केही सजिलो हुने नरम खालको राजनीतिक पात्रले सरकारको नेतृत्व गरोस् । उच्चपदस्थ सरकारी पदाधिकारीहरु भारतीय नेतृत्वप्रति नरम होस् । यसको खोजी इन्डियाले गर्नु उसको परम्परागत चरित्र हो । यो नेपालका लागि कुनै नौलो र अनौठो विषय होइन र खेलको कुटनीति जारी छ भने पनि आश्चर्य मान्नु पर्दैन । नेपालको राजनीतिक इतिहासमा विगतको हस्तक्षेपलाई स्मरण गर्दै यस पटक पनि इन्डियाले आफ्ना कुटनीतिक विषालु पञ्जा फेरी दोहोराउन खोजेको हुन सक्छ ।
अदूरदर्शी राजनीतिका प्रभावहरु : यो देशले हामीमाथि यो अत्याचार ग¥यो, त्यो हस्तक्षेप ग¥यो जस्ता अकुटनीतिक भाषामा उत्रिनु अर्थ हुँदैन । आफ्नो थैली कति बलियो छ ? बाहिरी देशको हस्तक्षेपलाई सरकार वा पार्टीका नेताहरुले जथाभावी उजागर गरेर वा दोष लगाएर आन्तरिक समस्या समाधान हुँदैन । प्रतिशोधी कदमका अर्थमा लिएर छिमेकी मुलुकसंग दूरी बढाउनु नेपालका शासकका लागि कुनै पक्षमा बुद्धिमानी हुँदैन । तसर्थ विगतका त्रुटी सच्याउन साझा प्रतिवद्धतामा लाग्नु पर्दछ । भविष्यमा राजनीतिक तहमा कुनै गल्ती नगर्ने साझा प्रतिवद्धता गरिनु उचित हुन्छ । विगतका त्रुटीहरुलाई सच्याउने प्रयास भएको छ । ती विगतका त्रुटीहरु नै महँगो रुपमा देशले चुकाउनु परिरहेको सिकाइलाई आत्मसात गरेर इमानदारिता साथ नेपालका नेताहरुले नेतृत्व गर्ने कुशलता अभिवृद्धि गर्नुको विकल्प छैन । एउटा पार्टी वा नेताले अर्को पार्टी वा नेतालाई सार्वजनिक स्थानमा खुइल्याएर नेता त बनिएला तर देश सुरक्षित हुँदैन भन्ने कुरा संवेदनशीलतासाथ सबैले मनन गर्नु आवश्यक छ । राजनीति तथा हैकमवादी चरित्रको हस्तक्षेपवादी राजनीतिले ग्रस्त नेपाल जस्ता मुलुकले आफूलाई आपसी विश्वास र आन्तरिक पार्टी तथा नेताहरुका बीचमा एकताका साथ सम्हाल्नुको कुनै विकल्प हुँदैन । नेतृत्वको अदूरदर्शिताले मुलुकलाई कमजोर पार्छ र एकतावद्ध दूरदर्शिताले देशलाई बलियो र सुरक्षित तुल्याउँछ भन्ने चेतना राजनीतिक पार्टी र नेतृत्वमा खाँचो देखिन्छ ।
सार्वभौमिकताको सुरक्षा कुटनीतिक चातुर्यता : छिमेकी देशको चासोमा नेपालमा नेकपा प्रथम अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने काम भएको कुरा प्रधानमन्त्री कै मुखबाट अभिव्यक्त हुनु राष्टिय स्वाधिनताका लागि कम चिन्ताको विषय होइन । आवेश वा आक्रोशको कथन वा आरोपभन्दा पनि विगतका घटनावलीहरुको विश्लेषण गर्दा प्रमको अभिव्यक्ति सत्य तथा आत्मस्वीकृत वचन नै लाग्दछ । छिमेकीको राजनीतिक षडयन्त्रमा सत्ता परिवर्तन हुने हो भने यस घटनाले सार्वभौम अधिकार प्राप्त नेताको सत्ता गुम्ने वैयक्तिक डरको विषय मात्र होइन, समग्र नेपालको सार्वभौमिकतामाथिको आपत्तिजनक अतिक्रमण हुन्छ । यसर्थ प्रमको कथनमा यदि पूर्ण सत्यता छ भने समग्र नेपाली राजनीतिक पद्धति तथा सार्वभौमिक सम्प्रभुताका लागि घातक कदम हुनाले यो विषय गम्भीर समीक्षाको हुनु पर्दछ । यो घटनालाई यसै सेलाउन हाल्नु घोर आपत्तिजनक हुन्छ र राजनीतिक मुद्दामा देशप्रति गद्दारी ठहर्छ । यसर्थ समग्र राजनीतिक सुशासन तथा पारदर्शीताको बाटो खोज्ने दायित्व सत्तासीन नेकपा र प्रतिपक्ष राजनीतिक पार्टीसमेतको चासोको विषय हुनुपर्दछ । तसर्थ बृहद राजनीतिक बहस र इतिहासमा गल्ती नदोहोरिने निकासको साझा प्रतिवद्धता पार्टीहरुको चाहिन्छ र सत्तासीन पार्टीले छिटो यस किसिमका घटनालाई समाधान गर्ने कुटनीतिक चातुर्यता देखाउन सक्नु पर्दछ ।
विषको सट्टा अमृत कहाँ ? : राजनीतिक, आर्थिक आदि सबै पक्षमा सार्वभौमिक अधिकार सम्पन्न मुलुक आफ्नो खुट्टामा उभिन सक्नु पर्दछ । तर राजनीतिक लगायत सबै क्षेत्रमा विदेशी परनिर्भरता भएमा मुलुकमा अस्थिरता हुन्छ । विदेश नीति र कुटनीतिक नियोगहरुलाई दिइने छुट वा नियमनमा समानता नभएमा राजनीतिक पार्टीभित्र आपसी मेलमिलाप नहुने गरी आफू अनुकूलका पात्र तथा राजनीतिक शक्तिको खोजी राजनीतिक रणनीति तथा कुटनीति नै हुन्छ । यो खेलमा नेपाली आफैँ संलग्न नहुने साझा समझदारीको खाँचो भएकाले विदेशीलाई मात्र षडयन्त्रमा संलग्न देख्नु आफ्नै दृष्टिदोष हुन्छ । विगतमा जानेर वा नजानेर वा प्रजातान्त्रिक अभ्यासको अभिभावकत्वको विश्वासमा परेर नेपाली राजनीतिक दलका नेताहरुले विदेशी भारतीय शासक वा राजनीतिक दलहरु समक्ष नेपालमा प्रजातन्त्र स्थापना गर्न सहयोग मागेको सत्य हो । कृतज्ञताको घातमा स्वाभीमानलाई आत्मसमर्पण ठान्ने तथा ठूलो माछाले साना माछालाई निल्ने संस्कृतिमा दूरदर्शी वा अदूरदर्शी नेपाली नेताहरुको विगतको गल्तीको फलको बाध्यता भारतीय अत्याचारको निरन्तरता हो भने संघीय गणतान्त्रिक नेपालले सबै असमानताहरुको अन्त गर्न आवश्यक छ । नेपालका राजनीतिक दल र तिनका नेताहरुले आ आफ्नो वैयक्तिक स्वार्थ वा सामूहिक हितका लागि विगतमा गरेका विदेशीहरुसंगका गोप्य संझौताहरुका कारण कतै देश कठिन मोडमा पुगेको त होइन ? सत्ता प्राप्तिका लागि तत्कालीन राज्यविरुद्धमा विदेशीलाई अपराधी शैलीमा प्रोत्साहित गरेको फल राजनीतिक संकटका रुपमा देख्न परेको त होइन ? अनि राजनीतिक रुपमा विदेशीसंग गरेका गोप्य र आत्मघाती सम्झौताहरुका कारण नेतृत्व हेपिएको त होइन ? कतै हामीले नै बीउ धतुरोको रोप्ने र फलचाहिँ सिलाम वा अमृतको खोज्ने मूर्खता त गरिरहेका छैनौँ ? राष्टिय सार्वभौमिकताका लागि नेकपा वा नेका, सजपा वा अन्य राजनीतिक दलहरुले गम्भिर आत्म समिक्षा गर्न आवश्यक छ र एकमतले देशभक्ति र सुरक्षामा जुट्नु पर्दछ ।
सत्ता उन्मादका श्रृंखलाहरुबाट बच्ने क्षमताको नेतृत्व : चाकरीवाज र स्वार्थका पात्रहरुबाट घेरिनु, तिनलाई नै वरिपरि राख्नु र उनकै विश्वासमा पर्नु नै सत्ता उन्मादका विपरित श्रृंखला हुन्छन् । राजनीतिक नेतृत्व स्थापित हुन आदेश र दमनमा चल्न रुचि राख्ने उल्टो मानसिक व्यवहारले नेपालको राजनीतिक पद्धति इतिहासदेखि पिडित हुँदै आएको पाइन्छ । यसर्थ आफ्ना नेतृत्व कुशलताका कमीकमजोरी लुकाएर अन्य परिस्थितिलाई वा विदेशी चलखेललाई मुख्य दोष लगाएर प्रमुख नेतृत्व उम्किन खोज्नु कुनै पनि अर्थमा सफल राजनीति हुन सक्दैन । तर नेपालको बिडम्बना यही रहिआएको छ । जशका लागि आफू अग्रसर हुने र विफलता वा कमजोरीका लागि अन्यत्र दोष खनाउने नेतृत्व नै हाम्रो राजनीतिक नेतृत्वगत समस्या हो । तसर्थ प्रजातन्त्रमा नेताहरु खुला र सहभागितामूलक निर्णयमा चल्न सक्ने सांस्कृतिक चरित्रको हुनु पर्दछ । नेतृत्वले राजनीतिक पार्टीहरुलाई विधान, विधि, सिद्धान्त र सर्वमान्य पद्धतिमा चलाउन आवश्यक हुन्छ । पार्टी पद्धतिमा नेतृत्व नै सबै थोक हो तर पार्टीको सामू आफू केही पनि होइन, पार्टी नै सर्वोपरि हो भन्ने उदारता प्रदर्शन गरेर कार्यकर्ताबाट विश्वास जितेको हुनु पर्दछ । यसर्थ पार्टी पद्धति मातहत रहेर पार्टी कार्यकर्ताको पूर्ण विश्वास जितेर आफू अनुकूल पार्टीको संरचनालाई चलाउने र निर्णयमा हिडाउने क्षमताको खाँचो हुन्छ । तर आफ्ना कमीकमजोरी ढाक्न वा लुकाउन खोज्ने र गुटउपगुटका सहारा लिएर स्वार्थानुकूल जेजस्ता पनि कदम चाल्न पछाडि नपर्ने नेतृत्व कुनै पनि अर्थमा प्रजातान्त्रिक हुन सक्दैन । यस्तो निरंकूशतावादी चरित्र राजनैतिक बेइमानी र जनताप्रतिको ठूलो धोका तथा व्यवस्थामाथि नै अपमान हुन्छ । सत्ता, शक्ति र साधनस्रोतमा पुग्नासाथ आफूलाई देवत्वकरणमा स्थापित गर्न चाह्नु नै राजनीतिक असफलताको मुख्य जड मानिन्छ र नेता यो दुर्गुणबाट बच्नु पर्दछ । दार्शनिक सिद्धान्त, पार्टीगत आदर्श र स्वविवेकीय विशेषताको चरित्र उजागर गरेर अन्धसमर्थक शण्डमुण्डहरुको घेराबाट बाहिर निस्कन सक्नु नै राजनीतिक पतन हुनुबाट सुरक्षा कवच प्राप्त गर्नुहुन्छ ।
नेकपा सच्चिओस : नेकपा विवाद समाधान दीर्घकालीन वा अल्पकालीन ? प्रश्न छ । चार पाँच दशकदेखि सक्रिय राजनीतिक पुस्ताले शिर्षस्थ नेतृत्वबाट आफूलाई अलग नगर्ने हो र सत्ता र शक्तिको मियोमा आफूलाई राखेर सधैँ पार्टी तथा सरकारलाई गिजोलि रह्ने हो भने दीर्घकालीन समाधान देखिन्न । शिर्षस्थ नेताहरुमा देखिएको सत्ता मोह र पद लोलुपताले गणतान्त्रिक संविधान र स्थायी राष्टिय सभाको मर्यादालाई घात गरेको देखिन्छ । प्रधानमन्त्री हुन् वा पार्टी नेता आफूले पाएका सूचना र राजनीतिक घटनाहरुको विवरण आधिकारिक निकायमा राखिनु उचित हुन्छ । जहाँ पायो, त्यही मञ्चमा धारणा नराख्दा कुटनीतिक चातुर्यता हुन सक्छ । कुनै पनि छिमेकीसंगको विवादास्पद विषयको अभिव्यक्ति केटाकेटी खेलाचीको राजनीति हुन सक्दैन । नेताहरु नेतृत्वमा आउँछन् जान्छन् तर संस्थागत विश्वासको आधार पार्टी हुन् र तिनमा आस्था राख्न आम जनतालाई आस्वस्त पार्ने विधि र पद्धति हुनु पर्दछ तर कुनै पनि पार्टीले त्यो कठोर सम्झौतामा जान नसकेको देखिन्छ । सबै सर्वोच्च तथा शिर्षस्थ नेताहरुलाई मान सम्मान र लाभ हुने सुनिश्चितता गर्ने तर पार्टीका तमाम दार्शनिक र चुनावी प्रतिवद्धताका समस्याहरुलाई कुनै निकास नदिने सम्झौतावादी स्वार्थले पार्टीहरु जनस्तरमा बलिया हुन सक्दैनन् । नेकपामा निकासको बाटो खोल्दा दोस्रो र तेस्रो पुस्ता बलिदान हुन तयार हुनु पर्दछ तर शिर्षस्थ नेताहरुको सबैको कुनै पनि स्वार्थमा आँच आउन दिनु हुँदैन भन्ने देखिएको छ । नेकपाको सर्वोपरि हित वा सधैँ राज्य, सत्ता र साधनस्रोतको चास्नीमा डुबेका शिर्षस्थ नेताहरुको जीवनपर्यन्त नेतृत्वको सुनिश्चितता एकताको आधार हुन सक्छ समितिको दावीलाई कसरी वैज्ञानिक मान्न सकिन्छ ? शायद यसैले होला, नेकपा पार्टीभित्रको समस्या समाधान गर्न गठित छ सदस्यीय कार्य दलले निश्चित सर्तपालना र पार्टी पद्धतिमा सरकार सञ्चालन हुने सुनिश्चिततासहित के पी ओलीकै पाँच वर्षको निरन्तरता आवश्यक हुने ठानेर नेपाली जनताको विश्वासको सम्मान गरेको छ । यसर्थ कुनै अनिष्ट घटना नघटेमा र राजनीतिमा कुराजनीतिले प्रवेश नपाएमा बाँकी अवधि मुलुकको प्रधानमन्त्रीमा ओलीको निरन्तरताले प्रशासनिक तथा राजनीतिक स्थिरता हुने निश्चित छ । तर सुशासन र विकास के हुन्छ ? अहिले भन्नु हतारो हुनेछ ।
संघीयता कार्यान्वयनमा संवेदनशीलता : देशका सत्तरी लाख हाराहारीका युवायुवती विदेशमा छन् । हजारौँ हजार शिक्षित र प्रतिभावान नागरिकहरु गुणस्तरीय शिक्षा प्राप्तिका नाममा विदेशिने क्रममा कुनै कमी आएको छैन । कोरोना भाइरस महामारीले भारता तथा अरबमा भएका लाखाँै नेपालीहरु प्रभावित भए । आज पनि स्वदेश फिर्न नपाएर बिचल्लीमा छन् । देशव्यापी बाढी, पहिरो, डुबान, नदी कटान वा प्राकृतिक विपदाले हजारौँ नागरिक घरबारविहिन भएका छन् । युवायुवतीको बिछोडले प्रायः सबै समाजमा विकृति र मानसिक तनावका समस्याहरु सिर्जना भएका छन् । कोभिड १९ को संत्रासमा स्वदेश भित्रिएका हजारौँ नागरिकहरु पेट पाल्न आम्दानीको स्रोत नभएको गुनासो गर्दै कोरोनाको भयावह स्थितिमा मरे मरौँला भनी मजदूरी गर्न भारत प्रवेश गरेको समाचार आइरहेका छन् । राजनीतिक पार्टीहरु र सरकार बेखर हुँदै आन्तरिक सत्ता लुछाचुँडीमा केन्द्रित हुने गरेको आरोपमा मिथ्यापन छैन । जनताको आदेश सहभागिता, सहकारिता, सहअस्तित्व र समन्वयमा मिलेर पार्टी र सरकारलाई अगाडि बढाउँ भन्ने हो तर नेकपा होस वा नेका, सजपा होस वा राप्रपा, संसदभित्रका हुन वा बाहिरका सबै राजनीतिक पार्टीहरु मिलेर देशको सर्वाङगीण विकास गर भन्नेमा जोड पाइन्छ । यसर्थ संघीयतामा शासकीय संरचना, सेवा प्रवाह पद्धति, जनप्रतिनिधित्व संख्या न्यूनीकरण तथा साधारण खर्च घटाउन आवश्यक छ । देशमा कृषि,पशुपालन, मत्स्यपालन आदि र प्रदेश, स्थानीय तहको विशेषता अनुरुप नागरिकहरुलाई स्वदेशमा रोजगारी, स्वरोजगारी आदिमा संलग्न गर्ने नीति, कार्यक्रम जरुरी छ ।
निचोड : राजनीतिक नेतृत्वले कार्य व्यवहारबाट देशभक्त, सक्षम र आत्मस्वाभीमानी उत्तराधिकारी तयार पार्ने उदाहरण आफैँबाट अभ्यास गरेर सिकाउने हो । कोरा दर्शन, जहाँ पायो, त्यहाँ भाषण र नाराले मात्र सबल, क्षमताशील र देशभक्त कार्यकर्ता तयार हुँदैनन् । सबैलाई योग्यता र क्षमतानुसार पार्टी, सरकार तथा सार्वजनिक क्षेत्रमा काम गर्ने अवसर दिनु पर्दछ । संघीय, प्रदेश तथा स्थानीय तहमा जिम्मेवार रहेका पार्टी नेता तथा जनप्रतिनिधिहरुको कामको नियमित निरीक्षण, पेसागत प्रशिक्षण तथा काममा परिमार्जन र थप प्रोत्साहन गर्ने पार्टीको नीतिगत प्रबन्धात्मक संयन्त्रको खाँचो छ । कुनै अमुक नेता, नेतृत्व देशभक्त हुँदैमा देश सुरक्षित हुन्छ भन्न सकिन्नँ । भौतिक शरीर नश्वर हुनाले नेताको देशभक्तिले पुग्दैन र पद्धति र समग्र नेताहरुमा राष्टभक्ति हुनु पर्दछ । सबै नेताहरु विदेशीका प्रतिनिधि हुन् र उनकै इसारामा काम गर्दछन् भन्ने सस्तो लोकप्रियताको राजनीति गर्ने देशभक्तिले मुलुक कहाँ पुग्छ ? कुनै पनि राष्टवादी नेतृत्वले आफू पछिको देशभक्त नेतृत्वको तयारीमा ध्यान दिएनन् भने देश संकटमा पर्न सक्छ । नेतृत्वको आत्मघाती कदम भनेकै दृष्टिदोष हुन सक्छ । यसर्थ देशको स्वाधिनता, स्वाभीमानका विषयका कुरा राख्दा नेतृत्वले पार्टी वा सरकारको आधिकारिक निकायमा राख्ने गर्नु पर्दछ । सत्य अभिव्यक्तिलाई पनि कुटनीतिक तहबाट उत्तर दिइनु उचित हुन्छ र गैर जिम्मेवारीसाथ प्रकट हुने बोलीमा लगाम लगाएर विषपान गर्न तयार हुँदै आम जनताको अभिमतमा राष्टिय रुपमा प्रतिकार गर्न सक्नु देशभक्ति हुन्छ । यसर्थ जिम्मेवार नेतृत्वका अभिव्यक्तिका सकारात्मक तथा नकारात्मक प्रभावका विषयमा सबै सचेत हुने गरौँ र देशको स्वाभीमानको रक्षा गरौँ । प्रजातान्त्रिक नेतृत्व, शिर्षस्थताको सम्मान सामूहिक जवाफदेहितामा हुन्छ । देशले जित्नै पर्दछ र हार्ने सवाल हुँदैन । यसमा सबैले प्रजातान्त्रिक विधिमा निकासको बाटो खोज्न त्यागका लागि नेताहरु तयार हुनु पर्दछ ।
(पोखरेल, नेपाल सरकारका उपसचिव हुन् ।)
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७