माेरङ । माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेक नजिकै रहेको सावित्रा बाख्रा फर्मले खसी बाख्रा पनि उत्पादन गर्न थालेपछि आम्दानी वृद्धि गरेकाे छ ।
पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर समेत अहिले उक्त फर्ममार्फत मनग्ये आम्दानी लिन सफल भएकाे छ । पछिल्लो समयमा गाउँघरका युवाहरु वैदेशिक राेजगारीलाई निरन्तरता दिन थालेपछि गाउँमै बसेर केही गर्ने सकिन्छ भन्ने राम्रो उदाहरण बनेका छन् फर्म सञ्चालक फणीन्द्र सुवेदी ।
फर्ममा अहिले बाेयर जातका खसी बाख्रा पालन सुरु गरिएकाे छ । उक्त जातका खसी बाख्रा खरिदका लागि सिन्धुली, स्याङ्जा, सुर्खेत लगायतका स्थानबाट माग हुने गरेकाे सुवेदीले बताए । पछिल्लो समयमा उन्नत जातका खसी बाख्राको माग बढ्न थालेपछि आफूले उत्पादन बढाउन लागिपरेकाे उनले बताए ।
२०७० सालमा स्थापना भएको फर्मले ५० हजार रुपैयाँकाे लगानीमा २ वटा बाख्राबाट बाख्रापालन सुरु गरेकाे थियाे । तर फर्ममा अहिले २ सय वटा उन्नत जातका बाख्रा छन् । उनले उक्त खसी बाख्राका लाागि ४ बिघा खेतमा घाँस लगाएका छन् ।
केही महिना अगाडिदेखि खसीकाे समेत माग आउन थालेपछि उनले पाठा पाठी उत्पादन गर्नुका साथै मासुका लागि खसी समेत उत्पादन गर्ने थालेका छन् । अहिले उनले ३ महिनाकाे एउटा पाठीकाे मूल्य न्यूनतम २० हजार पर्ने बताए । यसैगरी खसी ५ सय ५० रुपैयाँ प्रतिकिलाेका दरले बिक्री गरेको उनलेे बताए ।
वैदेशिक राेजगारीका लागि कतार पुगेर काम गरिरहेका २ छाेरालाई समेत अहिले आफ्नै व्यवसायमा फर्काएकाे उनले बताए । उनका छाेरा रमेशले आफू ५ वर्ष खाडी मुलुक पुगेर पसिना बगाएकाे र त्यहाँभन्दा आफ्नै देशमा केही गर्ने सकिन्छ भन्ने विश्वासका साथ आफू फर्केर बुबाकाे पेसामा लागेकाे बताए ।
फर्मबाट अहिले सम्पूर्ण खर्च कटाएर वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको सुवेदीले बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७