काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९का संक्रमितको उपचारमा सहयोग पुर्याउन प्लाज्मा थेरापीको लागि रगत संकलन सुरु गरेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोधमा विभिन्न संस्थाहरुसँगको सहकार्यमा सोसाइटीले प्लाज्मा थेरापीका लागि रगत संकलन सेवा सुरु गरेको हो। सोसाइटी र नेपाल चिकित्सक संघबीच रगत संकलनमा सहकार्य गने बुधबार सात बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो।
सोसाइटीका अध्यक्ष डा नेत्र तिमिल्सिना र संघका अध्यक्ष डा लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडि बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताबमोजिम सोसाइटीले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्यागलगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ।
त्यसमा संघले प्लाज्मा संकलनका लागि कोभिड–१९ संक्रमित भई निको भएका नागरिक, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरुसँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ । सोसाइटीको समन्वयनमा प्लाज्मा दान गर्ने दाताहरुको सम्मानका लागि आवश्यक तयारी गरिएको छ।
स्थानीय अस्पतालसँगको सहकार्यमा रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रक्तसंकलन सुरु गरिसकेको सोसाइटीले जनाएको छ। धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै सुरु गरिने जनाइएको छ।
प्लाज्मा थेरापी उपचारको प्रभावकारिता अहिले पनि अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरुले बताएका छन्। प्लाज्मा दान गर्दा दाताहरुलाई कुनै पनि शारीरिक तथा मानसिक असर नपर्ने चिकित्सक संघले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७