काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाबाट बाहिरिनका लागि थप कडाइ गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले कडाइ गरिएको जानकारी गराएको हो । यसअघि उपत्यका छिर्न पिसिआर रिपोर्ट अनिवार्य थियो भने बाहिर जानका लागि कुनै अवरोध थिएन । अब भने उपत्यकाबाट बाहिर जान स्थानीय तहको स्वीकृति अनिवार्य चाहिने भएको छ ।
अत्यावश्यक कामका लागि उपत्यका बाहिर जानेहरूका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र अथवा स्थानीय तहको स्वीकृति अनिवार्य चाहिने भएको हो ।
यसका साथै जानै पर्ने काम परेकाे प्रमाणित हुने कागजातसमेत जिल्ला प्रशासनमा पेस गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।
दाह संस्कार, कर्मचारीको सरुवालगायतका अत्यावश्यक काम परेको खुल्ने विवरण पेस नगरी काठमाडौं उपत्यका बाहिर जान नपाइने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ।
बाहिर जानुपर्ने व्यक्ति तोकिएको ढाँचाको निवेदन र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने छ। अत्यावश्यकबाहेकका कामका लागि उपत्यकाबाहिर जान सहजीकरण नगरिने प्रशासनले जनाएकाे छ ।
उपत्यका छिर्नेका लागि पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति वा स्थानीय तहको अनुमतिपत्र लिएर मात्र आउन पाइने छ । अनुमितपत्र अनिवार्य गरे पनि अहिले उपत्यका छिर्नका लागि पिसिआर रिपोर्ट भने अनिवार्य छैन ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७