चितवन । झण्डै ४ वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा २१ भदौमा मृत गैँडा भेटिएकाे हाे ।
५ दिनअघि १६ भदौबन्दुकको आवाज आएपछि नेपाली सेना र निकुञ्ज कर्मचारीको खोजीपछि गैँडा शङ्कास्पद अवस्थामा भेटिएको थियो । निकुञ्जले गैँडाको टाउकोमा २ वटा प्वाल र पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा भेटिएको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भेटिएको गैँडा गलेको अवस्थामा रहेको बताए ।
बन्दुकको आवाज आएकै दिन गैँडा मरेको मृत शरीरको प्रकृतिले देखाएको छ । टाउकोमा गोली लागेको निकुञ्जका अधिकारीहरुले अनुमान लगाएका छन् तर तस्करले खाग र खुरकै लागि गैँडा मार्ने भए पनि ती दुवै सुरक्षित रहेको बरालको भनाइ छ ।
घटना शङ्कास्पद भएसँगै निकुञ्ज थप रणनीतिका साथ अनुसन्धानमा अघि बढेको छ । यसअघि विसं २०७३ साल चैत २६ मा राप्ती बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करले गैँडा मारेका थिए । त्यसयता प्राकृतिक कारणबाट मात्र गैँडा मरेको बरालको भनाइ छ ।
बरालले तस्करले नै गैँडा मारेको हुनसक्ने बताए । उनीहरु तस्कर समूह भएको भन्दै तिनीहरूलाई निस्तेज पार्ने रणनीतिमा निकुञ्जमा लागेको उनको भनाइ छ ।
बराल छुटेका कैदीबन्दी र फरार अभियुक्त निकुञ्ज सुरक्षाको चुनौती रहेको स्वीकारे । गएको वैशाखयता मात्र भरतपुर कारागारबाट गैँडा तस्करीको अभियोगमा २३ जना कैद भुक्तान गरेर छुटेका छन् । कारागार प्रमुख कमलप्रसाद काफ्लेका अनुसार त्यही मुद्दाका आउँदो चैतसम्ममा ४, २०७८ मा ६, २०७९ मा १० जना र २०८० मा ४ जना छुट्दै छन् । कोही भने कारागारभित्रको जिम्मेवारीको आधारमा छिटो छुट्न सक्छन् । हाल कारागारमा सो अभियोगमा ६८ जना छन् । ५ वर्षभित्रमा आधाभन्दा बढी छुट्ने काफ्लेले बताए ।
यस मुद्दामा अधिकतम सजाय १५ वर्ष कैद र १० लाख जरिवाना वा दुवै हुने व्यवस्था छ । कारागारमा रहेकामध्ये २२ जना चेपाङ मात्र छन् । कारागारमा भएका सबैभन्दा बढी चितवनका ४५, नवलपरासीका १२, मकवानपुरका १० र पर्साका एक जना छन् ।
एक महिलाबाहेक अरू सबै पुरुष हुन् । बरालले अहिले छुटेका कतिपय पहिले तस्करीमा लागेकाहरु भएको जानकारी दिए । रासस
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७