काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै राइड सेयरिङ सेवा टुटल र पठाओले पनि सेवा सुरु गरेका छन् ।
उपत्यकामा निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपमार्फत सेवा थालनी भएको हो । टुटलले स्वास्थ्य सतर्कतासहित नियमित सेवा थालेको छ भने पठाओले अत्यावश्यक अवस्थाका लागि सेवा सुरु गरेकाे छ ।
राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।
कोभिड-१९ महामारी नियन्त्रणका लागि ११ चैतदेखि लागू गरिएको लकडाउन र त्यसपछिको निषेधाज्ञामा कम्पनीले सेवा सञ्चालन गरेको थिएन ।
यसैगरी अर्काे कम्पनी पठाओले नियमित सेवा सुरु नगरे पनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको जनाएकाे छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्यक सेवा चाहनेहरूलाई नियमित सेवा दिने बताएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७