बुटवल । नवलपुरकाे १ स्कुलका प्रिन्सिपलले शुल्क नतिरेकाे भन्दै १ अभिभावकलाई कुटपिट गरेकाे समाचार बाहिरिएकाे छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् ।
शिक्षककाे कुटपिटबाट आचार्यकाे खुट्टा नै भाँचिएकाे छ । आचार्यले २ जना छोरालाई पढाउँदा लागेको ३० हजार रुपैयाँ शुल्क ३-४ वर्षसम्म पनि नदिएको भन्दै प्रधानाध्यापक कुवँरले कुटपिट गरेको बताएका छन् ।
खुट्टा भाँचिएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको २ लाख २० हजार रुपैयाँ बिल बनेकाे छ । बिल तिर्ने पैसा नभएपछि अस्पतालमै बस्नुपरेको उनले गुनासो गरेका छन् ।
बुटवलको लुम्बिनी सिटी अस्पतालमै अलपत्र परेका उनले सहयोगको याचनासँगै आफूलाई कुटपिट गर्ने प्रिन्सिपल कुँवरमाथि कारबाहीको माग गरेका छन् ।
खुट्टा भाँच्चिएका आचार्य उच्च रक्तचाप र मधुमेहका बिरामी रहेकाे बताइएकाे छ ।
घटना गत साउन २८ गतेकाे हाे । तर आचार्यले भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालय कावासोतीमा जाहेरी दिएका छन् । जाहेरीका आधारमा प्रहरीले भदौ १० गते कुटपिट तथा अंगभंग सम्बन्धी मुद्दा दर्ता गरेकाे छ ।
घटनामा संलग्न प्रिन्सिपल कुँवर फरार छन् । प्रहरीले जाहेरीका आधारमा १० गते नै मुद्दा दर्ता गरेर आरोपितको खोजी भइरहेको जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७