काठमाडाैं । कोरोना भाइरसकाे संक्रमण बढेपछि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञालाई बिहीबारबाट खुकुलो बनाउने निर्णय भएकाे छ । खुकुलाे भए पनि निषेधाज्ञा भने १ साता थपिएकाे छ ।
गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् ।
नयाँ व्यवस्थाअनुसार उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू हुने छ ।
काडमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ३ सातायता जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जानकारी दिए ।
यसका साथै व्यापार व्यवसाय पनि शर्तसहित सञ्चालन गर्ने दिने निर्णय भएकाे छ । डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण गरिएको छ । स्राेतका अनुसार बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि सञ्चालन गर्न पाइने भएकाे छ।
तर मानिसहरू जम्मा भएर मेला महोत्सव मनाउन र भोज, भतेर गर्न भने निषेध गरिएको छ । ब्युटी पार्लर र कपाल काट्ने ब्यवसाय पनि खोल्न पाइने छैन ।
३ भदौदेखि उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातमा सकिँदै छ । यसबीचमा २ पटक निषेधाज्ञा थप गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७