काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहलाई ५ शय्याका अस्पताल बनाउन निर्देशन दिएको छ।
सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
कोभिड–१९ संक्रमणका बिरामी राख्न शय्याको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो। ५ शय्याका दरले ती स्थानीय तहमा ३ हजार २ सय ४५ शय्याका अस्पताल बन्ने छन् ।
अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट संक्रमित भएका छन्। यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको संक्रमणबाट मृत्यु भएको छ। यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच शय्याको अस्पताल बनाउने निर्णय गरेका थिए। अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन्।
ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन्। मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए। मन्त्रालयले प्रतिशय्या रु दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ। अस्पतालका लागि तीन महिनाको शय्याका लागि रु पाँच लाख, औषधि रु ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि रु चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको छ।
ती स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुयायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचारको व्यवस्थापन गर्न अस्पताल निर्माण गर्न भनिएको हो।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७