नेपालीमा एउटा भनाइ छ, 'कमज़ोरलाई झिँगाले पनि लात हान्छ ।' सुन्दा हास्यास्पद भए पनि आशय चाहिँ कमजोर र निमुखालाई भौतिक समस्याले मात्र होइन, अमूर्त सामाजिक अवरोध र समस्याले हरेक पाइलामा अल्झाइरहन्छ। जति समतावादको नारा लगाए पनि जहाँ समाजको विकास भएको छ, त्यहाँ कुनै किसिमको पदानुक्रमको संरचना हुन्छ, अनि स्वतः असमानताको जन्म हुन्छ ।
समाजशास्त्रमा एकथरि सिद्धान्तले असमानता नभए समाजमा व्यक्तिगत वा समूहको प्रगतिका लागि प्रेरणा नै मिल्दैन भन्छन् । तर यथार्थमा असमानताले पैदा गर्ने विभेद र विपन्नताले वास्तविकतामा केही वर्गलाइ कति बाधा र अड्चन सिर्जना गर्छ- सायद सिद्धान्तको परिकल्पना गर्नेहरूमा त्यो पक्ष देख्ने दूरदर्शिता थिएन । हुन त युरोपमा औद्याेगीकरणपछि देखिएको असमानतालाई कार्ल मार्क्सले नऔँल्याएका होइनन् । विश्वका धेरै देशले मार्क्सको दर्शन अनुशरण गरेर कम्युनिस्ट सिद्धान्त अपनाए । तर अन्ततः सबै समाजमा कम्युनिस्ट शासन पद्धति विफल नै भयो । बिडम्बना, नेपाल संसारको कमै कम्युनिस्ट राजनीतिक विचारले शासन गरेको देशमध्येको एक हो । तर अहिले आर्थिक र सामाजिक असमानता र विभेदको विश्वमा नमुना बन्न आँटिसक्यो। देशमा करिब २५ प्रतिशत जनता गरिबीको रेखामुनि अझै छन् । विगतको दशकभन्दा गरिबीको रेखामुनि रहनेको संख्या अहिले कम भए पनि जात, धर्म, लिंग, र भौगोलिक क्षेत्रको कारण हुने विभेदकाे संख्या धेरै नै छँदै छ ।
स्वास्थ्य सेवामा पनि बिरामीलाई सेवा-पहुँचमा कठिनाइ, आर्थिक अक्षमता, सुलभ सेवा केन्द्रको अभाव, र स्वास्थ्य साक्षरताको कमीले गर्दा वर्षाैंदेखि असर पारेको तथ्य स्वास्थ्य अनुसन्धानकर्मीलाई नौलो कुरो थिएन । तर यो महामारीले यी सबै तथ्य हाम्रो अगाडि, हाम्रो बैठक कोठामा समाचारमार्फ़त दैनिक आइरह्यो । कोरोनाको महामारीले नेपालमा पनि विश्वको अन्य समाजमा जस्तै असमानता, खासगरी आर्थिक-सामाजिक पदानुक्रमको तल्लो खुड्किलोमा रहेकाले भोग्नुपर्ने असंगत असरलाई बाहिर ल्याएको छ । र महामारीले समाजको आर्थिक, सामाजिक र शारीरिक असहायमाथि माथिल्लो वर्गभन्दा बढी असर पारिरहेको छ । संकटको बेलामा सिर्जना भएको आपतकालीन स्थितिले असमानतालाई झन स्पष्ट तवरले अगाडि ल्याइदियाे । महामारीको सुरु-सुरुमा नै सीमित तथ्यांकको आधारमा पनि पहिचान भइसकेको थियो कि- कोरोनाले गरिब र असहाय वर्गतिर बढी असर पार्ने बाटो लिइसकेको थियो । चाहे उनीहरूको रक्षात्मक उपाय अपनाउने शक्ति होस् वा भाइरसले संक्रमण गरेको खण्डमा आफूलाई औषधि उपचार गर्ने वा आफ्नो परिवारका अन्य सदस्यलाई रक्षा गर्ने क्षमता होस्, बाटो कठिन देखिइसकेको थियो । यसरी बुझेको असमानतालाई अगाडि आइसकेपछि यी दुईबीचको सम्बन्धको वास्तविकता बुझेर महामारीको व्यवस्थापनमा सरकारले आवश्यक कदम लिएर अगाडि बढाएको भए कोरोनाको संक्रमणलाई ओरालो लगाउन सहज हुन्थ्यो ।
स्वास्थ्य्य र सामाजिक निर्धारक:
समाजशास्त्रको अध्ययनले पुष्टि गरेको छ कि- हाम्रो स्वास्थ्य्य जैविक र अनुवांशिक कारणले मात्र असर पर्ने होइन कि सामाजिक निर्धारकहरूको पनि महत्वपूर्ण भूमिका छ । समाजको आधुनिक जीवनशैलीमा, आधुनिक चिकित्सा शास्त्रले स्वास्थ्य्यलाई जैविक र अनुवांशिकको दायराबाट मात्र व्याख्या गर्छ, अनि उपचारको पद्धतिमा पनि आधुनिक उपकरण, औषधि, र टेक्नाेलाेजीलाई पनि प्राथमिकता दिन्छ । हाम्रो स्वास्थ्य सम्बन्धी मानसिकता र सामाजिकीकरण नै पनि यसरी नै विकास भइसक्यो । बिरामी भएपछि चक्की नै खानुपर्ने वा सुई नै लगाउनुपर्छ भन्ने मानसिकता स्थापित भइसकेकाे छ । यो पद्धतिलाई नकार्न खोजेको होइन । किनकि आधुनिक चिकित्सा विज्ञानले कराेडौँको ज्यान बचाइसक्यो । अनि हामी सबैको जीवनस्तर माथि लान ठुलो भूमिका खेलेको छ । वास्तवमा हाम्राे स्वास्थ्यलाई यति धेरै सामाजिक निर्धारकहरूले प्रभाव पार्छन्- जसलाई हामीले बेवास्ता गर्छौं र गर्दै आएका छौँ । यी प्रत्यक्ष वा अप्रत्यक्ष रूपले असर पार्ने निर्धारकहरूलाई ३ किसिमले वर्गीकरण गर्न सकिन्छ ।
सामाजिक-आर्थिक पक्ष : कुनै पनि व्यक्तिको शैक्षिक योग्यताले हासिल हुने आर्थिक र सामाजिक प्रतिष्ठा ले उसलाई समाजको उपल्लो दर्जामा पुर्याउँछ । अनि उसले सम्मिलित हुने त्यो सामाजिक पहुँच र बलियो सम्बन्धमा (social network) आफू जस्तै हैसियत र योग्यता भएको समूहमा एकअर्कासँग उचित जीवनशैली यापन गर्ना प्रेरणा मिल्छ । जसले स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्छ । फलतः शिक्षा र त्यसबाट हासिल हुने आर्थिक लाभ र प्रतिष्ठाले यो वर्गको सदस्यलाई आर्थिक भार नपारीकन आफ्नो रक्षा गर्ने अनि परिआएको खण्डमा उच्चस्तरको सेवा लिने शक्ति हुन्छ ।
वातावरणीय पक्ष :
हामी रहने वातावरणले प्राकृतिक र भौतिक वातावरण मात्र होइन कि कुनै पनि बस्ने र काम गर्ने वातावरणलाई पनि जनाउँछ । समाजका माथिल्लो वर्गले गर्ने कामको किसिम, काम गर्ने ठाउँको वातावरणमा जति सुरक्षाका प्रावधान अपनाएको हुन्छ समाजका तल्लो वर्गले गर्ने कामका किसिम र पेसाले वातावरणकै कारण निमत्याउने समस्याहरू पनि अधिक हुन्छन् । त्यस्तै मथिल्ला वर्गले बस्ने बस्ती अनि छरछिमेक पनि शारीरिक हानि या भवितव्यबाट जोगावट गर्ने सुविधायुक्त र सुरक्षित हुन्छ भने तल्लो वर्गको बस्ने र काम गर्ने वातावरणीय स्थिति आफैँमा स्वास्थ्यको जोखिम हुन्छ, त्यहाँ कामदारले दिनचर्याका लागि हिँड्ने बाटो, उसले बस्ने बस्तीको भौतिक तथा सामाजिक संरचनामा अनगन्ती शरीरलाई प्रतिकूल असर पार्ने कारक रहन्छन् ।
यसका साथै व्यक्तिले आफ्नाे जीवन गुज़ार्नुपर्ने समुदायको धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक वातावरणले पनि मानिसको मानसिक र शारीरिक स्वास्थ्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर पारिरहेको हुन्छ । नेपालका कति क्षेत्रमा आज पनि एक दलितलाई वा एक महिलालाई दैनिक विभेदसँग लडिरहनुपर्ने हुन्छ । सामान्य कुरालाई पनि उसलाई अनेक बाधा अड्चन आइपर्छन् । जसका कारण उनका मानसिक र शारीरिक स्वास्थ्यमा असर पारिरहेको हुन्छ । धर्मको नाममा दलितलाई मन्दिर छिर्नबाट वञ्चित गरिन्छ । छुवाछूत अझै समाजमा हाबी छ । त्यस्तै एक महिलालाई महिनावारी भएको बेलामा विभेदको शिकार हुनु पर्छ । अब यो स्थितिमा कसरी ती व्यक्ति समाजमा सुरक्षित हुन्छन् वा आवश्यक र उचित स्वास्थ्य सेवा पाउँछन् भन्ने आशा गर्न सकिन्छ ?
वंशाणुगत, स्वास्थ्य सेवा र जीवनशैली पक्ष :
मूलतः हाम्रो शारीरिक स्वास्थ्यको कारक चाहिँ जैविक र वंशाणुगत नै भन्ने बुझाइ छ । तसर्थ चाहे हाम्रो असल स्वास्थ्य र दीर्घायु होस् वा रोगबाट बच्ने शक्ति होस्, तिनीहरू पनि आफ्नाे व्यक्तिगत क्षमता वा चिकित्साशास्त्रको क्षमताभन्दा पनि बाहिर हुन्छ । अबूर्द वा मधुमेह जस्ता कतिपय रोगहरू केवल पारिवारिक अथवा जातसँग जोडिएको आनुवांशिक कारणले पनि लाग्ने सम्भावना हुन्छ जसलाई आधुनिक चिकित्साशास्त्रले सहज गर्न सके पनि निर्मूल पार्न अथवा पराजय गर्न चाहिँ सक्दैन । त्यसैले स्वास्थ्य विज्ञान र सेवामा भएको प्रगति र शक्तिमा पनि सबै रोग निर्मूल पार्ने सीमित क्षमता मात्र छ । तर हामीलाई चिकित्सा शास्त्रमा यति विश्वास छ कि हामीले आफूलाई पूर्ण रूपमा अजेय ठान्छौँ । तर वास्तवमा हाम्रो पेसागत व सामाजिक जीवनशैलीले स्वास्थ्यलाई त्यत्तिकै असर पारिरहेको हुन्छ । प्रहरी, स्वास्थ्यकर्मी, सरसफ़ाइ कर्मचारी जस्ताको पेसागत जोखिम आफ्नाे जैविक वा आनुवांशिक प्रतिरोधात्मक शक्तिभन्दा कड़ा हुन सक्छ जसले उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर पार्छ ।
तर्कसंगत छनौट सिद्धान्त (Rational Choice Theory) र व्यक्तिगत कदम :
माथि उल्लेखित वर्गीकरणले मनिसलाई व्यवहारमा कसरी असर पार्छ त ? पढ़े-लेखेको पहुँचवाला शिक्षित वर्गलाई यी सबै कारकहरूबाट असर नपर्ने जस्तो अनुभूति होला । तर यसमध्येका केही कारकहरू जन्मसिद्ध निर्धारक हुन् जसलाई नकार्न सकिन्नँ ।नभए संसारका धनी वर्ग वा सबै सुविधाले सम्पन्न व्यक्तिहरूलाई किन रोगले असर पार्थ्यो र ? एप्पल कम्पनीको संस्थापक स्टिभ जब्स किन समयअग़ावै क्यान्सरको शिकार हुन्थे ? जापानको प्रधानमन्त्रीले भर्खरै स्वास्थ्यको कारणले राजीनामा किन दिन्थे होला र ? तर सिक्काको अर्को पाटोमा वर्षाैंदेखि सरकारले महिला स्वास्थ्यमा अनेक शिक्षा तथा सूचना प्रसारण गरे पनि नेपालका विकट क्षेत्रहरूमा अझै गोठमा सुत्केरी हुँदा ज्यान गुमाइरहेका महिलाहरू पनि छन् । उनीहरुसँग सुरक्षित सेवाको ज्ञान भए पनि सेवा केन्द्रमा जाने आर्थिक वा तार्किक उपाय नभएर बाध्य भएर घरमै सुत्केरी हुन्छन् ।
यसरी हामीले कुनै न कुनै किसिमले हरेक दिन, हरेक व्यक्तिगत निर्णयको फाइदा र बेफ़ाइदा तौलिएर गरिरहेको हुन्छाैं । कति निर्णय हानि थाहा पाउँदापाउँदै पनि लाचार भएर गर्नुपर्छ भने कति आफ्नाे विवेकले ठीक वा ग़लत पहिचान गरे पनि फाइदाको लोभले निर्णय गरिन्छ । उदारहणका लागि हिमालको आरोहण जोखिमपूर्ण काम हो, यद्यपि बर्सेनि सयौँले कोसिस गर्छन्, धेरै सफल हुन्छन् तर केहीले ज्यान गुमाउँछन् । चुचुरो आरोहण गर्न चाहना गर्नेले मनग्य पैसा खर्च गर्छन् । किनकि त्यो खर्चेर र आफ्नाे ज्यान खतरामा राखेर पनि त्यसबाट हुने भौतिक फाइदा वा मानसिक आनन्द उसका लागि बढी महत्वपूर्ण हुन्छ । तर उसको सामान बोकेर लाने शेर्पा भरियालाई आफ्नाे परिवार पाल्ने ज़िम्मेवारी बढी महत्वपूर्ण छ । तसर्थ उ हरेक पल्ट ज्यानको बाजी लाउन तयार छ ।
अहिलेको महामारीको संकटमा पनि हामी यो दुविधालाई दैनिक सामना गरिरहेका छौँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता अनुरूप हामीलाई सरकारदेखि अनेक गैरसरकारी संघ संस्थाले कोरोनाबाट बच्ने उपायहरू मूलतः सेनिटाइजेसन, भौतिक दूरी, र मास्कको प्रयोग गर्न सूचनामूलक कार्यक्रममार्फ़त दैनिक प्रसारण गरिरहेका छन् । तैपनि बाहिर हेर्यो भने मानिसले न कडाइका साथ भौतिक दूरी क़ायम गरेको पाइन्छ, न मास्क नै लगाएको । अनि लकडाउनको बेलामा पनि झुक्याई लुकेर हिँडडुल गरेको देखिन्छ । फलस्वरूप संक्रमण बढिरहेको छ। अब तत्काल हाम्रो प्रतिक्रिया, विशेष गरी लकडाउन र विज्ञहरूले भनेका बचाउका उपाय पूर्ण अबलम्बन गरिरहेको व्यक्तिहरूलाई अरु व्यक्ति वा समूहले यस्तो लापरबाही गरेकोमा रिस उठे पनि; कति वर्गको बाध्यताले पनि जोखिमतिर धकेलिरहेको बुझ्नुपर्छ । बाहिर हिँडडुल गरिरहेका सबै लापरबाही वा क़ानुनको अवज्ञा गर्दै मात्र निस्केका हाेइनन्, बरु उनीहरु केही उपाय नभएर निस्केका हुन् । उनीहरूका लागि रोग लाग्ने सम्भावनाभन्दा महत्वपूर्ण आफ्नाे र आफ्नाे परिवारको भोक भयो।
जताततै छन् उदासीन उद्धारका उदाहरणहरू:
महामारीको प्रकोप बढ्दै गएपछि घर फ़र्किने क्रममा नदीमा हामफालेर भित्र छिर्न खोजेकाहरू जसको बोर्डरमा छिमेकी राष्ट्रले पनि व्यवस्थापन गरेन र आफ्नाे देश भित्रिन पनि नपाएर बिचल्ली भयो, वा सार्वजनिक सवारी साधन नचलेको बेलामा गरिरहेको दैनिक ज्यालाका काम पनि नरहेपछि हतासिएर सोलुखुम्बूदेखि कैलाली घर हिँडेर पुग्न खोज्ने मजदुर सबै एकै वर्गका गरिब जनता हुन् । अब अहिले फेरि यिनीहरू नै हतासिएर भारत फर्कंदै छन् फेरि एकपल्ट ज्यानको जोखिम मोलेर । किनकि जुन भरले आफ्नाे देश फर्किएका थिए, यहाँ आउँदा न क्वारेन्टाइनकाे व्यवस्था भयो, बरु कति त्यही रोगको चपेटामा परे, कोही बलात्कारको शिकार हुन पुगे । अनि आफ्नाे गाउँ पुगेकाहरूको न आयको स्राेत भयो न सरकारबाट कुनै रोज़गारीको प्रबन्ध । अन्तताेगत्वा फेरि सिमानामा जम्मा भएका छन् पारि जानका लागि । यही गरिब र असुरक्षित वर्गलाई नेपाल छिर्दा उचित जाँच र बस्ने व्यवस्था नहुँदा आफूले पीड़ा खपे, अरुलाई अनजान र विवश भएर सारे, अब भारत फ़र्किन लागेका उनीहरूलाई संक्रमण हाेला वा होला भन्नु छैन । किनकि आजको दिनमा भारतमा दैनिक ८०-९० हज़ार संक्रमित भइरहेका छन् । तर पनि यो बुझ्दाबुझ्दै उनीहरु आर्थिक बाध्यताले गइरहेका छन् ।
अहिले काठमाडाैंमा पनि समुदायमै संक्रमण फैलिइरहेको छ । किनकि सहरमा दैनिकीमा गुजारा चलाउनेहरू जो कम सुविधा भएको बस्तीमा सरकारी निकायहरूले भनेको कुनै पनि सुरक्षाको विधि अपनाउन असमर्थ छन् र जो बाध्यताले आफ्नाे बस्तीबाट बाहिर निसकिन्छन् गुजारा चलाउन । उनीहरु आफू पनि संक्रमणको खतरामा छन् अनि अरुलाई सार्ने हैसियत पनि राख्छन् । त्यस्तै अहिले सञ्चारमाध्यममा देखिएको मलको अभावमा तँछाडमछाड गरेर घन्टौ हुल गर्न बाध्य भएका कृषकहरू पनि सामाजिक र आर्थिक हिसाबले पीड़ित वर्ग हुन् जसलाई बाध्यताले जोखिम मोल्नुपरेको छ।
देशका कुना काप्चामा कठिन भौगोलिक र सामाजिक वातावरण जीवनयापन गर्ने समुदायलाई पनि अन्य रोगब्याध सँगसँगै कोरोनाले पनि असर पर्ने उच्च सम्भावना छ । कठिन भौगोलिक परिस्थितिमा गुजारा गर्नेको आर्थिक, शैक्षिक, सामाजिक स्थिति पनि कठिन नै हुन्छ । पहाडभन्दा तराईका ज़िल्ला बढी संक्रमित छन् । किनकि तराईका सीमाका ज़िल्लाका समुदाय भौगोलिक र सामाजिक कारण तथा खुला सिमानाले गरिददिएको सहजताले भारतबाट हुने आवत-जावतले गर्दा नै बढी संक्रमित छन् । साथै, विशेषतः, तराईमा दलित समुदाय विभेद र छुवाछूतको कारणले पनि बढी दुःख भोगिरहेको छ । त्यस्तै सीमा क्षेत्रमा निर्मित क्वारेन्टाइन नै गुणस्तरहीन भए । जहाँ समाचारमा आएको दलित व्यक्तिमाथि गरेको कुटपिट वा युवतीको बलात्कार भएको घटना पनि त्यो निम्नस्तरको व्यवस्थापनको वातावरणले हुन गएको हो । यस्ता घटना समाजको माथिल्लो वर्गले बस्नुपर्ने ५ तारे होटेलमा गरेको व्यवस्थामा हुने सम्भावना न्यून भए, र भएको घटनाको समाचार बाहिर पनि सायद आउने थिएन । किनकि माथि भने जस्तै उनीहरूको सामाजिक पहुँचले दबाइन्थ्यो।
हाम्रो समाजको सांस्कृतिक, धार्मिक, चडबाडको मौसम र वातावरणले पनि समुदायमा एक प्रकारको अजयेको सोच प्रदान गर्छ । अनि मानिस ओइरो लागेर मठमन्दिरदेखि रथ तान्नसम्म निषेधाज्ञा र कोरोनाबाट बच्ने उपाय नअपनाएर उल्टै हुलहुज्जत गरेको त सञ्चारमाध्यममा देखिएकै हो । यस्तै जोखिमलाई रोक्न मन्दिरहरू बन्द छन् । तीजकोअगावै निषेधाज्ञा जारी गर्नुपर्यो, अब सायद दसैं तिहारसम्मको चाडबाडको भीड़भाड़ रोक्न निषेधाज्ञा जारी गर्न प्रशासनले सुझाव दिएको छ। अब यी सुझाव विपरीत गएर जोखिम मोल्ने कि सुरक्षित रहने आफैँमा निर्भर गर्छ ।
हाम्रो पारिवारिक आनुवांशिक पृष्ठभूमिले होस् वा आफ्नाे जीवनशैलीले होस्, कोरोनाको कारण हामीमध्येका केहीलाई अझ जोखिम हुने स्थिति पनि हुन्छ । जस्तै प्रहरी, स्वास्थ्यकर्मी, सरसफ़ाइको काम गर्नेले आफ्नाे पेसागत जीवनशैलीको कारण बढी जोखिम अपनाउन बाध्य हुन्छन् । स्वास्थ्यकर्मी आवश्यक सुरक्षाका सामानको अभावका बाबजुद पनि उपचारमा खटिरहेका छन् । प्रहरी सहरमा सुरक्षा र नियम पालना गराउन नै खटेका छन् । आफ्नाे काम गर्दा कुटपिटको शिकार हुनुपर्नेदेखि संक्रमणको शिकार भएको त हालै पुलचोकमा भएको घटनाले देखाएको छ । तथ्यांकले संक्रमणले प्रहरी र स्वास्थ्यकर्मीलाई असर पारेको पनि पुष्टि गरेको छ ।
दुःखलाग्दो कुरा- अन्वेषकहरूले औँल्याएको कोरोनाले गर्ने असमान असरको ज्ञान नेपाल सरकारले बुझ्दाबुझ्दै पनि जुन निरीह असहाय वर्गको रक्षामा उदासीनता देखायो, त्यसको असर अहिले समाजले भोगिरहेको छ। यस्तो बेलामा सरकारले दोहोरो भूमिका खेल्नुपर्ने थियो।पहिलो, अभिभावकको हैसियतले समग्र परिवारलाई सुरक्षित राख़्न कुनै कसर नछोड्नुपर्ने थियो । झन् आफ्ना परिवारको कमज़ोर सदस्यको त स्थिति बुझेर झनै उचित व्यवस्था गरी उनीहरूलाई परिआउने आर्थिक भार अनि त्यसले निमत्याउने मानसिक तनावलाई मध्यनज़र गर्दै व्यवस्था गर्नुपर्ने थियो । यसकाे साटो हाम्रा सरकारी निकाय र पदाधिकारीहरू भ्रष्टाचारलाई बढ़ावा दिन लागे ।
दोस्राे, सरकारले उचित उपचारको बन्दोबस्तको साथसाथै कसरी सुरक्षित रहने उपायहरू सहज ढंगले सम्झाइबुझाई गर्नुपर्ने थियो । तर विज्ञानभन्दा आफ्नाे रबाफिलाे शैलीले प्राथमिकता पायो । सीमित स्राेत र साधन नभएकोलाई उक्त सामानहरू उपलब्ध गराउनुपर्ने थियो । यो नभएर हामी सबैले अहिले भाड़ा तिर्न नसकेर घरबाट निकालिएका टेम्पाे चालक र भरियादेखि बोर्डरमा भारत स्याउ टिप्न जानेको भीड हेरिरहेका छाैं । गरिब र हतासिएका यी नागरिक अटेरी भएका हाेइनन् उनीहरु विवश भएर 'रोगले नमारे, भोकले मार्छ' भन्दै लाचार भएर ज्यानको बाजी लगाएर निस्केका हुन् । भन्दा दुःख लाग्छ, तर सरकारले कोरोनाको व्यवस्थापनमा देखाएको हेलचेक्राइँले आफ्नाे भोटर होस् वा अरु नागरिकको आँखामा नैतिक प्राधिकार गुमाएको छ ।
ट्विटरः @AmPyakuryal
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७