फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ ।
हाल नेसन्स लिगका लागि फ्रान्सको राष्ट्रिय टिमसँग रहेका एम्बाप्पेलाई कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्काइएका छन् ।
फ्रेन्च फुटबल फेडेरेसनले एम्बाप्पेलाई सोमबार गरिएको परीक्षणमा काेराेना पोजेटिभ देखिएको र उनलाई फ्रान्स फिर्ता पठाएर सेल्फ आइसोलेसनमा राखिने बताएको छ । एम्बाप्पेलाई कुनै लक्षण नदेखिएको बताइएको छ ।
एम्बाप्पेले अब क्रोसियाविरूद्धको आजराती हुने नेसन्स लिगको खेल गुमाएका छन् । उनले यस अघि शनिबार भएको स्विडेनविरुद्धको खेलमा निर्णायक गोल गरेर फ्रान्सलाई जिताएका थिए ।
एम्बाप्पे कोरोनाको चपेटामा आउने पिएसजीका सातौँ खेलाडी हुन् । यसअघि नेइमार, एन्जल डी मारिया, माउरो इकार्डी, केलोर नाभास, मार्क्वीनोस, लीन्द्रो परेडेजलाई कोरोना पोजेटिभ देखिएपछि अहिले होम आइसोलेसनमा छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७